Breaking News
चितवनका अस्पतालहरुको अक्सिजनको मागलाई धानेको स्वर्गद्धारी ग्यास उद्योग

चितवन, जेठ १–
कोरोना भाइरस (कोभिड–१९) का गम्भिर प्रकृतिका संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । जसका कारण देशैभरका अस्पतालहरुमा अहिले अक्सिजनको हाहाकार मच्चिएको छ । देशकै मध्यभागमा अवस्थित चितवन जिल्ला मेडिकलको हबको रुपमा परिचित छ । ठूला–ठूला अस्पतालहरु भएकाले देशका विभिन्न भागबाट बिरामीहरु यहाँ आउने गरेका छन् । अहिले कोभिड महामारीका बेला पनि गम्भिर प्रकृतिका संक्रमितहरु अहिले धमाधम चितवन आइरहेका छन् ।
कोभिडको उपचार हुने चितवनका सबै अस्पतालहरुमा अहिले संक्रमितले भरिएका छन् । यसैका कारण चितवनमा समेत अहिले अक्सिजन अभाव सिर्जना भएको छ । चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल बाहेक अन्य अस्पतालहरुको आफ्नै अक्सिजन प्लान्ट छैन । आफ्नै प्लान्ट भएपनि अस्पतालहरुका अक्सिजन उत्पादन क्षमता कम छ । जसका कारण सबैजसो अस्पतालमा अहिले अक्सिजनको हाहाकार मच्चिएको छ । यस्तो बेलामा जिल्लामै रहेका एउटा उद्योगले अस्पतालहरुमा देखिएको अक्सिजनको संकट तत्कालको लागि टारेको छ ।
भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको स्वर्गद्धारी ग्यास उद्योगले जिल्लाका सबै अस्पतालहरुमा अक्सिजन आपूर्ति गरिरहेको छ । २०६५ सालमा स्थापना भएको यस उद्योगले पहिलोपटक जिल्लाका अस्पतालहरुमा अक्सिजन उपलब्ध गराएको हो । यस उद्योगबाट हाल चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल, नारायणी सामुदायिक हस्पिटल, श्रीपुष्पाञ्जली हस्पिटललाई अक्सिपन आपूर्ति गरिरहेको उद्योगका फाइनान्स हेड मुस्तफा आलमले नारायणी अनलाइनलाई जानकारी दिए । ‘हामी चितवनका सबैजसो अस्पताललाई अक्सिजन उपलब्ध गराइरहेका छौँ, हामी बेलैमा सर्वसुलभ दररेटमा अक्सिजन दिएका छौं’ आलमले भने ‘हामीले बेलैमा अक्सिजन उपलब्ध नगराएको भए ठूलो क्षति हुनेवाला थियो ।’ उनका अनसार ठूलो सिलिण्डरको प्रति सिलिण्डर ३८५ रुपैयाँमा अक्सिजन विक्री भइरहेको छ ।
यस उद्योगमा अहिले २४ घण्टामा ५ सय थान ठूलो सिलिण्डर अक्सिजन उत्पादन भइरहेको उद्योगका निर्देशक मनोज श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिए । ‘अहिले अक्सिजनको अभाव भएकाले फुलफेजमा उत्पादन गरिहेका छौँ’ निर्देशक श्रेष्ठले भने ‘तत्काललाई हाम्रो उत्पादनले अस्पतालहरुलाई सहज भएको छ ।’ ती उत्पादित अक्सिजन अहिले सबै चितवनमै खपत भइरहेको छ । ‘अहिले हाम्रो ध्यान चितवनमै केन्द्रित भएको छ, चितवन मात्र नभइ अन्य जिल्लाबाट बिरामी आइरहेकाले हरसम्भव सहयोग गरिरहेका छौँ’–निर्देशक श्रेष्ठले भने । यस उद्योगसंग झण्डै एक हजार सिलिण्डर रहेको छ । त्यसमध्ये ७ सय सिलिण्डर विभिन्न जिल्लामा पुगेका छन् भने ३०० सिलिण्ड मात्रै उद्योग भित्र छन् । अहिले उद्योगकै सिलिण्डर र अस्पतालहरुले उपलब्ध गराउने सिलिण्डरमा अक्सिजन भर्ने काम भइरहेको छ ।
यस उद्योगले अस्पतालहरुमा मात्र नभई आपत्मा परेका एम्बुलेन्सहरुलाई पनि सर्वसुलभ मूल्यमा अक्सिजन उपलब्ध गराइरहेको छ । ‘हामी अस्पतालहरुलाई मात्र होइन, जटिल समस्यामा परेका संक्रमितलाई बोक्न प्रयोग हुने एम्बुलेन्सहरुलाई पनि अक्सिजन उपलब्ध गराएका छौँ’–फाइनान्स हेड आलमले भने ।
अस्पतालहरु मध्ये अहिले सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । त्यस बाहेक स्वर्गद्धारी ग्यास उद्योगले ३ सयको हाराहारीमा अक्सिजन उपलब्ध गराइरहेको छ । तर पनि चितवन मेडिकल कलेजमा अक्सिजन अभाव भने भइरहेको छ । ‘हाम्रो दैनिक ६ सय सिलिण्डर अक्सिजनको माग छ’ अस्पतालका प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले नारायणी अनलाइनसंग भने ‘स्वर्गद्धारीबाट केही सहयोग भएपनि अझै अक्सिजनको अभाव कायमै छ ।’
अहिले सबैभन्दा धेरै चितवन मेडिकल कलेजमै कोरोना संक्रमितको उपचार भइरहेको छ । यस अस्पतालमा शनिबार दिउँसोसम्ममा १८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४८ जना आइसीयूमा उपचाररत छन् । कोरोना संक्रमित सबै बिरामीहरुलाई अक्सिजन दिएर उपचार भइरहेको छ । अहिले भरतपुर अस्पतालमा १५० जना संक्रमित, पुरानो मेडिकल कलेजमा ११६ जना संक्रमितसहित चितवनका अस्पतालहरुमा ४८६ जना संक्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
























