अन्तर्राष्ट्रिय
कोरोनाबाट बच्ने भन्दै गाईको गोबरले नुहाउँदै, डाक्टरले भने खतरनाक

भारत, वैशाख २९ –
भारतमा केही गाँउका व्यक्तिहरु कोरोनाबाट बच्न सकिने भन्दै गाईको गोबरले नुहाईरहेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले भारतमा धेरै मानिसहरुको ज्यान गईरहेको छ । कोरोना भाइरसले भारतमा सबैभन्दा धेरै असर पारेका छ । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका छन् ।
गुजरातमा केही मानिसहरु आफ्नो शरीरमा गाईको गोबर दलिरहेका छन् भने गहुँत सेवन गरिरहेका छन् । उनीहरुका अनुसार यसले कोरोनाविरुद्धको लडाईंमा प्रतिरोधी क्षमता बलियो बनाउन सकिन्छ र कोरोनाभाइरस भइहाले पनि यसले यो खतरनाक भाइरसलाई बचाउनेछ ।
यो विषयमा रोयटर्ससँग कुरा गर्दै एक फर्मा कम्पनीका असोसिएट म्यानेजर गौतम मणिलाल बोरिसाले यसो गर्नेमा थुप्रै डाक्टरहरु पनि छन् । उनी पनि गाईको गोबर र गहुँतले प्रतिरोधी क्षमता राम्रो हुने र त्यसपछि कोभिडका बिरामीको उपचार कुनै डर बिना नै गर्न सकिने मान्यता राख्छन् ।
गौतमले आफू श्री स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानमा गएर यो ‘थेरेपी’ गरिरहेको बताए । गौतमको दाबी अनुसार उनी अघिल्लो वर्ष कोरोनाद्वारा पोजेटिभ भएका थिए तर यही थेरेपीको सहाराले उनले यो खतरनाक भाइरसलाई परास्त गर्न सफल भएका थिए ।
उनीहरु सुरुमा गाईलाई अँगालो हाल्छन् र त्यसपछि आफ्नो शरीरमा गाईको गोबर लगाएर योगा गर्छन् । यद्यपि, भारतका थुप्रै डाक्टर र वैज्ञानिकले कोरोनाको यो मनगढन्ते उपचार प्रक्रियाको विषयमा चेतावनी जारी गर्दै आएका छन् । यी डाक्टरले यस्तो तरिका अपनाउँदा मानिसहरुको समस्या थप बढी जटिल हुनसक्ने बताएका छन् ।
यो मामिलामा इन्डियन मेडिकल असोसिएशनका नेशनल प्रेसिडन्ट डाक्टर जेए जयलालले गाईको गोबर वा गहुँतमार्फत् कोरोनाविरुद्धको युद्धमा प्रतिरोधी क्षमतालाई बलियो बनाउन सकिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण नभएको र यो पूर्ण रुपमा आस्थामा आधारित रहेको बताएका छन् । उनका अनुसार यसले स्थितिलाई जटिल बनाउने कुरामा स्पष्टता छ ।

























