देश/प्रदेश
खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ, साउन २० –
नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीबाट काठमाडौतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहा मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद भएको छ ।
उक्त लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेककुमार साहलाई पनि पक्राउ गरिएको छ ।
त्यसैगरी, मोरङबाट काठमाडौतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय सागर कार्कीलाई पक्राउ गरिएकोे छ । उनीहरूका साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ४३० ट्याब्लेट बरामद भएको छ । रासस

























