कृषि

खैरहनी नगरपालिकाले दियो दूध उत्पादनमा अनुदान

Banner

ध्रुवराज खनाल

चितवन, वैशाख २७-

चितवनको खैरहनी नगरपालिकाले दुध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान दिएको छ ।

चालु आर्थिक वर्ष २०७७\०७८ मा किसानको हातमा पुग्ने गरी २४ लाख ११ हजार २८१ रुपैयाँ अनुदान दिएको नगरपालिकाले जनाएको हो ।

दुग्ध उत्पादक सहकारी संस्था मार्फत् किसानहरुले आफ्नो उत्पादनको रकम पाउनेछन् । प्रति लिटर २८ पैसाका दरले किसानले अनुदान प्राप्त गर्नेछन् । रकम सम्बन्धित दुग्ध उत्पादक सहकारी संस्थाको खातामा जम्मा भइसकेको छ । सहकारीले वर्ष भरी किसानले बिक्री गरेको दूधको आधारमा रकम प्रदान गर्नेछ । यहाँका २२ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट किसानले आफूले प्राप्त गर्नुपर्ने रकम पाउनेछन् ।
वर्षभरी किसानले बिक्री गरेको दूधका आधारमा रकम पठाएका छौ खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले भने, ‘ उत्पादनका आधारमा रकम प्राप्त गर्ने हुँदा किसानलाई हौसल्ला हुन्छ, पशुपालन व्यवसायले दिगोपन पनि पाउँछ । खैरहनीमा गत वर्ष ८६ लाख ११ हजार ७१८ लिटर दूध किसानले सहकारीमा बिक्री गरेको तथ्यांक छ । सोही तथ्यांकका आधारमा प्रति लिटर २८ पैसा किसानले प्राप्त गर्ने मेयर चौधरीले बताए । आर्थिक वर्ष २०७६÷०७७ मा २४ पैसा तथा आर्थिक वर्ष २०७५÷०७६ मा २० पैसाका दरले अनुदान प्रदान गरेको थियो । गत आर्थिक वर्षमा सबैभन्दा धेरै दूध संकलन गर्ने खैरहनी ६ स्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्थाले तीन लाख ५ हजार ६९३ प्राप्त गरेको खैरहनी नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले जानकारी दिए ।

सो सहकारीले १० लाख ९१ हजार ७६३ लिटर दूध संकलन गरेको थियो । सबैभन्दा कम भने खैरहनी नगरपालिका–२ स्थित विन्दवासिनी दुग्ध उत्पादक सहकारी संस्थाले १७ हजार ६८७ रुपैयाँ प्राप्त गरेको छ । वागमती प्रदेश सरकारले पनि उत्पादनका आधारमा प्रति लिटर २ रुपैयाँका दरले अनुदान दिँदैछ । खैरहनी नगरपालिकाको पशुपंक्षी शाखा मार्फत् यस वर्ष चिलिङ भ्याटमा अनुदान, मिल्क एनिलाइजरमा अनुदान, मोटरसहित च्यापकटरमा अनुदान,बाख्रामा नश्ल सुधारका लागि बोयर बोका वितरण, नश्ल सुधारकै लागि ब्याडे बोका वितरणमा अनुदान, एक वडा एक नमुना गाईभैसी फर्ममा अनुदान, माछा व्यवसायीलाई यान्त्रिकरणमा सहयोगअन्तर्गत डिजिटल काँटा मेसिनमा अनुदान, बाख्रा पकेट प्याकेज कार्यक्रम, टर्की, बट्टाई र हाँसको चल्ला वितरण पनि गर्दैछ । वितरणका लागि किसान तथा फर्महरु छनौट भइसकेको पशुपंक्षी विकास शाखा प्रमुख श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>