चितवन विशेष
चितवनका विभिन्न संघसंस्थाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

चितवन, वैशाख २६-
नेपाल पत्रकार महासंघ चितवन शाखालाई विभिन्न संघसंस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब इन्टरनेटसनल ३२५ बी टुले आज माक्स, सेनिटाइजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले १०० थान माक्स, सेनिटाइजर र फेस सिल सहयोग गरेका छन् ।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदी, सदस्यहरु सिरिष पन्त र विकास थापाको उपस्थिति थियो । महासंघका सल्लाहकार तिलक रिमाल र उपाध्यक्ष प्रकाशमणि ज्ञवाली कार्यक्रममा सहभागी भएका थिए ।
यस्तै उद्योग संघका अध्यक्ष राजु पौडेलले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
सो अवसरमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा महासंघका अध्यक्ष अधिकारीलाई संघको प्रेस सल्लाहकार नियुक्त गरिएको थियो । कार्यक्रममा महासंघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर इलेक्ट रामप्रसाद भट्टले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा डिष्ट्रिक कोअर्डिनेटर, दिननाथ न्यौपाने, लायन्सका कोभिड प्रोटेक्सन टिमका संयोजक सिद्धार्थलाल चुके, क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मा, लायन्स लिडरहरु कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, सुरेश श्रेष्ठ, शिव पण्डित, बालगोपाल चुके र प्रशान्तकुमार पियाको उपस्थिति रहेको थियो ।
महासंघले प्राप्त सामग्री आजैबाट सदस्यहरुलाई वितरण थालेको छ । यी सामग्री एक लाख ५० हजार रुपैयाँ बराबरका रहेका छन् । सामग्री कोरोना माहामारीको समयमा अग्रभागमा रहेर सूचना प्रवाह गर्नुपर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोगी हुनेछन् ।
























