चितवन विशेष
चितवनमा एपबाट घरमै पीसीआर परीक्षण गर्ने व्यवस्था गरिँदै

चितवन, वैशाख २६-
राइड सेयरिङ एप साथीले कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुका लागि घरमै पीसीआर परीक्षण गराउने गरी परीक्षण सेवा सुरु गरेको छ।
राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरुसँग सहकार्य गरी घरमै स्वाब संकलन गर्ने जनाएको हो ।
कम्पनीले यात्रुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस तथा फुड डेलिभरी सेवा दिँदै आएको छ।
‘ अहिले काठमाडौँ उपत्यकामा मात्रै यो सेवा सुरु भए पनि आउँदो दिनमा हामी यस सुविधालाई विस्तार गर्दै चितवनसहित नेपालका विभिन्न जिल्लाहरुमा विस्तार गर्नेछौं। हामीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी अब इमरजेन्सी कार सर्भिसका साथै हेली एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौ,’ कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भने ।
सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम, ठेगानासहितका अन्य विवरण भरेर रजिस्टर गर्नुपर्ने कम्पनीले जनाएको छ ।
























