Breaking News

चल्लाको मुल्यमा भारी गिरावटः ५० प्रतिशत चल्ला नष्ट गर्दै हृयाचरी उद्योग

Banner

चितवन,बैशाख २६-

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले निषेधाज्ञा लागु गरेपछि कुखुराको चल्लाको मुल्यमा भारी गिरावट आएको छ । निषेधाज्ञाको समयमा किसानले कुखुरा पाल्न छाडेपछि मुल्यमा गिरावट आएको हो । हृयाचरी उद्योगले चल्ला विक्री नभएको भन्दै नष्ट गर्न थालेका छन ।

विक्री भएका चल्लाको मूल्य पनि निकै कम पाएको व्यवसायीको भनाई छ । निषेधाज्ञापछि हृयाचरी उद्योगमा ५० प्रतिशत चल्ला नष्ट गर्नुपर्ने बाध्यता आएको हृयाचरी उद्योग संघका केन्द्रिय अध्यक्ष क्रृषिराम पौडेलले बताउनुभयो । “कोरोनाका कारण ५० प्रतिशत पनि चल्ला विक्री छैन,उहाँले भन्नुभयो’,भएको पनि न्यून मूल्यमा बेच्नु परेको छ ।” १५ दिनअघि ८० देखि ९० रुपैंया प्रति गोटा विक्री भएको चल्ला अहिले १० देखि २० रुपैंयामा पनि विक्री हुन धौं धौं भएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले चल्ला नष्ट गर्नुभन्दा सस्तो मै भएपनि बेच्ने बाध्य भएको बताउनुभयो ।

“चल्लाको उत्पादन लागत ६० देखि ६५ रुपैंया छ । ५० प्रतिशत नष्ट छ ५० प्रतिशत न्यून मूल्यमा बेच्नुपर्दा क्षतिको गन्ती नै छैन”,उहाँले भन्नुभयो । उहाँले यही अवस्था रहिरहे केही समयपछि मासु र अण्डाको अभाव खड्किने बताउनुभयो ।

नेपालमा हाल प्रति हप्ता ३५ लाख चल्ला उत्पादन हुने संघको तथ्याङ्क छ । जसमध्य बोइलर ३३ लाख र लेयर्स २ लाख उत्पादन हुने गरेको छ । त्यसको ४० प्रतिशत उत्पादन चितवनमा छ । हृयाचरी उद्योगले हप्ताको दुई दिन चल्ला निकाल्ने गर्छन । “बर्ड फ्लु आएपछि कुखुराको बजार राम्रो छैन,एक बर्षअघिदेखि कोरोनाको मारमा पोल्ट्रि क्षेत्र छ”,पौडेलले भन्नुभयो । कुखुरापालन व्यवसायलाई जोगाउन सरकारले ध्यान नदिएको उहाँले गुनासो गर्नुभयो । चल्लाको मूल्य बृद्धि हुँदा अनुगमनमा निरन्तर आइरहने बाणिज्य विभाग मूल्यमा भारी गिरावट आउँदा वास्ता नगरेको उहाँको भनाई छ ।

हृयाचरी उद्योग संघका बागमती प्रदेश अध्यक्ष ज्ञानबहादुर बिसुरालले कोरोनाका कारण किसान कुखुरा पाल्न तयार नभएको बताउनुभयो । निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ भन्ने अन्योलताका कारण पनि किसान दोधारमा परेको उहाँको भनाई छ ।

नेपालमा पोल्ट्रि क्षेत्रमा डेढ देखि दुई खर्बको लगानी छ । त्यसमध्य हृयाचरी उद्योगमा मात्रै १ खर्वको लगानी रहेको व्यवसायी बताउँछन । देशभर करिब ३४० हृयाचरी उद्योग छन । पछिल्लो समय पनि उद्योग खोल्ने क्रम रोकिएको छैन । नेपाल पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनेपछि नयाँ व्यवसायी पनि हृयाचरी व्यवसायमा आकर्षित छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>