Breaking News

चितवनमा पाँच दिनमा कोरोनाका गम्भीर बिरामी दोब्बर, अधिकांशलाई अक्सिजनको साहारा

Banner

चितवन, वैशाख २१-

चितवनमा गत पाँच दिनमा कोरोनाका गम्भीर बिरामीहरुको संख्या दोब्बर पुगेको छ ।

गम्भीर स्वास्थ्य समस्या देखिएर गत वैशाख १७ गते भरतपुरका तीन ठूला अस्पतालको आईसीयू र भेन्टिलेटरमा जम्मा ३२ जना कोरोना संक्रमति बिरामी रहेका थिए तर आज पाँच दिनपछि ती अस्पतालमा रहेका गम्भीर बिरामीको संख्या ६४ जना पुगेको छ । पाँच दिन अघि भरतपुर अस्पतालको आईसीयूमा ६ जना, चितवन मेडिकल कलेजमा १० जना र पुरानो मेडिकल कलेजमा ८ जना बिरामी थिए । त्यस्तै, भेन्टिलेटरमा १७ गते भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ५ जना र पुरानो मेडिकल कलेजमा २ जना रहेका थिए । अहिले यो संख्या दोब्बर भएको छ ।

आज मंगलबार स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालको आईसीयूमा १० जना, चितवन मेडिकल कलेजमा २५ जना र पुरानो मेडिकल कलेजमा १७ जना रहेका छन् । त्यस्तै आज भेन्टिलेटरमा चितवन मेडिकल कलेजमा ९ र पुरानो मेडिकल कलेजमा १० जना उपचार गराइरहेका छन् । कोरोना संक्रमितलाई जेनरल वार्डबाट आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थालाई गम्भीर अवस्थाको रुपमा बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

अधिकांश बिरामी अक्सिजनको सहारामा

अस्पतालमा उपचारका लागि आउने अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ ।

पहिलो लहरको कोभिडमा केही संक्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो ।

भरतपुर अस्पतालका अध्यक्ष एवम् वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले पहिलो लहरमा ११० जना बिरामी भर्ना हुँदा २० जनालाई अक्सिजन लगाउनुपरेको तर अहिले भर्ना हुने सबैलाई अक्सिजन दिनु परेको बताए । गत वर्ष उमेर बढी र दीर्घरोगीमा संक्रमण बढी देखिएको भए पनि अहिले सबै उमेर समूह प्रभावित छन् । सामान्य अवस्थाका संक्रमित घरमै बसेका छन् भने जटिल अवस्था आउनासाथ अस्पताल आउने गरेका छन् ।

उनका अनुसार पहिलो लहरमा ‘माइल्ड’, ‘मोडरेट’ र ‘सिभर’ वर्गीकरण गरेर उपचार गरिएकामा अहिले एउटै बिरामी ४८ घण्टामा माइल्डबाट मोडरेट अनि सिभर भएर घरको आइसोलेशनबाट एचडियु हुँदै सघन उपचार कक्षमा सार्नुपरेको छ । जुनसुकै बेला संक्रमितलाई अस्पताल भर्ना गरेर अक्सिजन दिनु परेको उनको भनाइ छ ।

अस्पतालका कोभिड व्यवस्थापन समूहका संयोजक डा प्रमोद पौडेल कतिपयले घरमा समेत अक्सिजन लगाएको जानकारीमा आएको बताउँछन् । अस्पतालमा भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरेको उनले जानकारी दिए । उहाँको भनाइमा अस्पतालमा रहेको हाइफ्लो नेजल क्यानुलाबाट समेत संक्रमितलाई अक्सिजन दिइँदै आएको छ । भरतपुर अस्पतालमा यस्ता उपकरण १० वटा छन् । यसले एक मिनेटमा साठी लिटरसम्म अक्सिजन दिन सक्छ । पौडेलले भन्नुभयो, ‘हामीले अक्सिजन प्लान्टबाट सोझै क्यानुलामार्फत बिरामीलाई अक्सिजन दिने गरेका छौँ ।’

अत्यधिक अक्सिजन आवश्यक पर्ने बिरामीलाई यस उपकरणमार्फत अक्सिजन दिइँदै आएको छ । साधारण लक्षण भएका सङ्क्रमित घरमै बस्ने र जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलनका कारण आएका सबैलाई अक्सिजन दिनु परेको चिकित्सकहरु बताउँछन् ।

फोटो : डा भोजराज अधिकारीको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>