Breaking News

आइसोलेसनबाट चितवन प्रहरी प्रमुख भन्छन्: निषेधाज्ञा कार्यान्वयनमा खटिँदा आराम गर्न पाएको छैन

Banner

चितवन, वैशाख २०-

चितवनमा कोरोना संक्रमण दर बढेसँगै अहिले वैशाख १७ गतेबाट महिनाभर निषेधाज्ञा छ । निषेधाज्ञामा सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने जिल्ला प्रहरी प्रमुख ओमप्रसाद अधिकारी अहिले वैशाख १४ गतेबाट कोरोना संक्रमित भई प्रहरी कार्यालयभित्रको आफ्नै निजी निवासमा आइसोलेसनमा छन् ।

आइसोलेसनमा रहेका उनलाई ज्वरो र खोकीका लक्षण देखिएका छन् । सामान्य ज्वरो आएकोले अन्य समस्या होला भनेर चेकजाँच गर्न अस्पताल जादा उनलाई कोरोना संक्रमण देखियो । होम आइसोलेसनमा रहँदा डाक्टरहरुसँग टेलिफोनमा परामर्श गरेर कोरोनासँग जुधिरहेका उनलाई आइसोलेसनमा रहँदा पनि जिल्लाको सुरक्षा व्यवस्थाको चिन्ता छ । फोनमा प्रहरी इकाइहरुमा निर्देशन दिने काममा उनी व्यस्त छन् ।
प्रहरी प्रमुख अधिकारीले नारायणी अनलाइनलाई भने, ‘अहिले आराम गर्ने बेलामा पनि आराम गर्न पाएको छैन । फोनहरु आइरहन्छन् रेसपोन्स गर्नुपर्छ । डीएसपी पनि भर्खर नयाँ हुनुहुन्छ चितवनको सुरक्षा व्यवस्थाबारे खासै धेरै जानकारी छैन । तर, पनि उहाँहरुले धेरै नै सहयोग गरिरहनु भएको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी सरोज गिरी, इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी इन्द्रबहादुर रानासँग र मातहतका ६ वटा इकाइका प्रहरी निरीक्षकहरूसँग निरन्तर सम्पर्क र समन्वयमा अधिकारीले काम गर्नुपर्ने हुन्छ । संक्रमित भएदेखि नै आफ्नो जिम्मेवारी नछाडी कुनै तनाव नलिई अधिकारी काममा खटिरहेका छन् । उनले चितवनमा जारी भएको निषेधाज्ञामा सचेत गर्ने काम यसअघि पनि धेरै भएकोले प्रभावकारी ढंगले निषेधाज्ञालाई कार्यान्वयन गर्ने काम भइरहेको नारायणी अनलाइनलाई बताए । उनले भने , ‘कोरोना संक्रमणबारे अनुरोध र जनचेतनाबारे मानिसलाई धेरै जानकारी भएको छ । स्वास्थ्य मापदण्ड पालना नगरी जथभावी हिड्नेलाई गरेको कारबाहीबाट प्रत्येक दिन उठ्ने गरेको राजस्वले पनि यसपटक निषेधाज्ञामा निकै कडाइ गरिएको कुरा स्पष्ट हुन्छ ।’

चितवनका प्रहरी प्रवक्ता सरोज गिरीका अनुसार प्रहरी प्रमुख संक्रमित भए पनि चितवनका अन्य प्रहरी अधिकारीहरुमा भने कोरोना संक्रमण देखिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवन भित्र झण्डै २०० बढी प्रहरी कार्यरत रहेका छन् । हिरासतमा दुई जना थुनुवा संक्रमित छन् ।
निषेज्ञा कार्यान्वयनको लागि चितवनका सबै नाकामा प्रहरीले कडा नियन्त्रण गरेको प्रवक्ता गिरीले जानकारी दिए । उनले भने, ‘बिहान ६ बजेबाट ९ बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म निषेधाज्ञा केही खुकुलो भए पनि नाकामा २४ सै घण्टा प्रहरीले निगरानी गरिरहेको छ । सवारी साधनलाई २४ घण्टासम्म होल्ड गरेर राख्ने देखि जताबाट आएको हो त्यतै फर्काउने काम प्रहरीले सक्रियतापूर्वक गरिरहेको छ ।’ उनले गत वर्षको निषेधाज्ञा भन्दा यसपटक कार्यान्वयनमा बढी कडाइ गरिएको बताए । चितवन प्रवेश गर्ने नाका पुलचोक, लोथर, मुग्लिनमा जिल्ला प्रशासनको निर्देशन बमोजिम सुरक्षा निकायहरुले विशेष निगरानी गरिहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>