राजनीति
आइतबारदेखि उपत्यकामा निषेधाज्ञा थप कडा हुने

काठमाडौं, बैशाख १८-
आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उहाँको भनाइ छ । शनिबार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको हो । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले भोलिदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
यसैबीच कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लघन गर्ने १२ सय बढीलाई प्रहरीले कारबाही गरेको छ । शनिबार बिदाको दिनमा पनि सरकारी गाडी लिएर सडकमा निस्केकासहित १२ सय ३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको हो ।
निषेधाज्ञालाई कडाई गर्ने नीति अनुसार अनावश्यक सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।
























