चितवन विशेष
माडीमा मानव वन्यजन्तुद्वन्द्व कम गर्न पाँच पाण्डव उपभोक्ता समिति सक्रिय

चितवन, वैशाख १६-
माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्त समितिले मानव वन्यजन्तु द्वन्द्व कम गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
वन्यजन्तुको बस्ती प्रवेशलाई नियन्त्रण गर्न समितिले माडी नगरपालिका–२ को भैरवपुरमा ४१० मिटर तारजाली लगाएको छ । त्यसैगरी माडी नगरपालिका–७ चन्द्रपुरीमा राति हात्ती धपाउनको लागि ३० फिट अग्लो मचान निर्माण गरेको छ । त्यसैगरी स्थानीयलाई पशुपालनमा सजिलो होस् भनेर ३२ वटा गोठको आधुनिकीकरण र व्यवस्थापनको काम गरिरहेको उपभोक्ता समितिले नारायणी अनलाइनलाई जानकारी दियो । पुराना गोठलाई ढलान गरेर आधुनिक बनाइएको छ ।
त्यस्तै माडी नगरपालिका–१ चैनपुर कल्याणपुरका ३५ जना किसानलाई व्यवस्थित बाख्राको खोर निर्माण गर्नको लागि तारजाली उपलब्ध गराएको समितिका अध्यक्ष नारायणदत्त सापकोटाले जानकारी दिए । उनले भने, ‘ माडीको वडा नम्बर १ र २ मा समुदायमा चोरी शिकार नियन्त्रण गर्ने उद्देश्यले युवा परिचालनलाई मुख्य प्राथमिकता दिइएको छ । माडीको वनकट्टामा रहेका बोटे समुदायलाई सशक्तिकरण गर्न हामस्टेको विकास गर्ने तयारी गरिएको छ । माडीको पाण्डवनगर र परशुराम कुण्ड जानको लागि बाटो बनाउने काम पनि समितिको प्राथमिकतामा छ ।’

























