कालिका

कालिका नगरका टोल विकासलाई व्यवस्थित गर्न माग

Banner

चितवन, वैशाख १४–

कालिका नगरपालिकाभित्र रहेका टोल विकास संस्थाका प्रतिनिधिहरुले संस्था संचालन प्रभावकारी बनाउन आग्रह गरेका छन् । मंगलबार आयोजित सो नगरपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले संस्था संचालनमा आवश्यक सहयोग नपाएको भन्दै प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

कालिका–८ स्थित जनशक्ती टोल विकास संस्थाका अध्यक्ष रामजी बाबु श्रेष्ठले टोल विकास संस्था नाम मात्रको भएको गुनासो गरे । नगरपालिकाले जिम्मेवारी दिए पनि संस्था व्यवस्थापन राम्रो नहुँदा समस्या परेको श्रेष्ठले गुनासो गरे । उनले नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न, कार्यालय व्यवस्थापनमा सुधार गर्न समेत सुझाव दिए । अन्य टोल विकास संस्थाका प्रतिनिधिहरुले पनि जिम्मेवारी पाए पनि संस्था बाक्सामा मात्र सिमित भएको भन्दै उचित व्यवस्थापनका साथ संचालनका लागि सहयोग गर्न नगरपालिकालाई आग्रह गरे । मुचुल्का र सिफारिस गर्न नगरपालिकाले टोल विकास संस्थालाई पनि सहभागी गराएको छ ।

नेकपा एमालेका लेखबहादुर थापाले जनप्रतिनिधि शाशक बन्ने गरेको भन्दै सेवाको भावनाले हेर्नु पर्ने, योजना अनुगमन प्रभावकारी बनाउनु पर्ने बताए । कालिका–१० की लक्ष्मी चेपाङले शीप मुलक तालीम दिनु पर्ने, बाल विवाह न्यूनीकरणमा पहल गर्नु पर्ने सुझाव दिईन् । पूर्वाधारका विषयमा उठेका जिज्ञासाको इन्जिनियर राजेश कोईरालाले जवाफ दिएका थिए । साथै कोेईरालाले पूर्वाधारको क्षेत्रमा हालसम्म भएको प्रगति प्रतिवेदन र आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत ऋषिप्रसाद कडुवालले वित्तिय क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहभागीहरुले राखेका गुनासा तथा जिज्ञासामा सम्वोधन गर्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले सबै नगरबासीको अथक प्रयासले मात्र समृद्ध नगर बन्ने बताए । सहभागीहरुले उठाएका सवालहरुलाई आगामी दिनमा आत्मसाथ गर्दै अघि वढ्ने समेत प्रमुख श्रेष्ठले प्रतिवद्धता जनाए । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ४ का वडाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, ६ का वडाध्यक्ष विनोद रेग्मीले सुसाशनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम महत्वपूर्ण अंग रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>