अन्तर्राष्ट्रिय
भारतको उत्तराखण्डमा हिम ताल फुट्दा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौँ, वैशाख ११-
भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा ८ जनाको ज्यान गएको छ ।
चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको इन्डियन एक्सप्रेसले जनाएको छ । भारतीय सेनाले ८ जनाको शव निकालेको र ३८४ जनाको उद्धार गरेको छ । उनीहरु बोर्डर रोड्स अर्गनाइजेशन (बिआरओ) मा कार्यरत थिए । खराब मौसमका कारण शुक्रबार बेलुका उद्धारका लागि कठिनाइ भएको भारतीय सेनाले जनाएको छ ।
शनिबार बिहान उद्धारको काम भएको र अहिले पनि अरु केहीको मृत्यु भएको हुन सक्ने आशंकामा खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार दिउँसो चार बजेतिर सुम्नाभन्दा चार किलोमिटर पर हिम पहिरो गएको आर्मीले जनाएको छ । नजिकै सडक निर्माणमा खटिएका कामदारका दुई क्याम्प प्रभावित भएका हुन् ।
हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण सो क्षेत्रको सडक सञ्जालमा अवरोध आएको पनि आर्मीले जनाएको छ । चमोलीमा गएको फेब्रअरीमा पनि हिमताल फुटेर बाढी जाँदा कम्तीमा ७० जनाको ज्यान गएको थियो ।
























