Breaking News
केपी ओली सकियो भन्नेहरु समानान्तर कमिटी बनाउँदै हिडेको देख्दा अचम्म लाग्छः मन्त्री लामा

चितवन, वैशाख ९-
कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा चितवनका एमाले नेताहरुले पार्टीभित्र माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीको चर्को विरोध गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आज एमाले रत्ननगर नगर कमिटीले गरेको कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवनमा केपी ओली सकियो भनेर भाषण गर्नेहरु नै पार्टीको समानान्तर कमिटी बनाएर हिड्दा अचम्म लागेको बताएका छन् ।
उनले देशी र विदेशी तत्वहरु पार्टी फुटाउन लागिरहेको बेला उनीहरुको पछि लागेर माधव नेपाल पक्ष समानान्तर कमिटी बनाउन लागेको विचार राखे । उनले भने, ‘केपी ओलीलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यसम्म नरहने गरी कारबाही भयो । एमालेमा माधव नेपाल तीन चोटी महासचिव हुनुभयो । पार्टी सधै तेस्रो भयो । पार्टी सबैभन्दा ठूलो बनेपछि केपी ओलीलाई धन्यवाद भन्नुपर्ने ठाउँमा समानान्तर कमिटी बनाएर हिड्नु लाजमर्दो कुरा हो ।’
उनले सुरेन्द्र पाण्डे कमरेड कहाँ छन् भन्ने प्रश्न गर्दै समानान्तर कमिटी गठन गरेर हिडेकोमा विरोध गरे । मन्त्री लामाले केपी ओलीको नेतृत्वमा पार्टी र सरकार अझ अगाडि बढ्दै जाओस् भन्ने जनचाहना रहेको भन्दै केपी ओली झनै शक्तिशाली हुँदै गएको विचार राखे ।
मन्त्री लामाले भने, ‘ एमालेले तीन तहको सरकार बनाउन सफल भएको छ । यो सफलताको मुल केन्द्रबिन्दु भनेको जनताको बहुदलीय जनवाद हो ।’ उनले जनताको बहुददलीय जनवाद मदन भण्डारीको विचारको नेतृत्व केपी ओलीले गरिरहनु भएको छ भन्दै खुसी र सुखी नेपाली बनाउन १८ घण्टासम्म लागिरहेको बताए । मन्त्री लामाले माओवादीसँग मिलेर कर्णालीमा फ्लोर क्रस गरेर आफ्नो सरकार गुमाउनु गम्भीर गल्ती भएको आरोप लगाए ।
त्यसैगरी कार्यक्रममा नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार जेएन थपलियाले कम्युनिस्ट पार्टीलाई जमिनबाट उठाउने काम पुष्पलाले र युवा बनाएर परिचालन गर्ने काम जननेता मदन भण्डारीले गरेको बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीहरु कुनामा बसेर रोइरहेको अवस्थामा नेपालमा कम्युनिस्ट सरकार नयाँ ढंगले अगाडि बढेको छ । तीनै तहको सरकारहरु स्थापित भएका छन् ।’ उनले भने अहिले केही मानिसहरु केपी ओली सिद्धियो भने पनि अहिलेको सबल नेतृत्व र सफल नेताको रुपमा स्थापित भइरहेको दाबी गरे । उनले भने, ‘ सरकार ढालेर पनि अर्को सरकार बनाइन्छ भनेर शिर झुकाउने काम भइरहेको छ । केहीले समानान्तर संगठन बनाएर विष छर्ने काम गरिरहेका छन् । त्यो प्रवृत्तिको विरुद्ध उत्रन पनि कार्यकर्तालाई आग्रह गर्न चाहन्छु ।’
उनले भने, ‘सरकारले निकै राम्रो काम गरिहेको अवस्थामा त्यसलाई फुटाउन र कमजोर बनाउन कतिपय त्यसमा घिउ थप्न लागिरहेका छन् ।’
























