Breaking News

चितवनको मेघौली बन्यो वन्यजन्तु तथा चराचुरुङ्गी पिँजडामुक्त गाउँ

Banner

चितवन, वैशाख ८–

पश्चित चितवनको पर्यटकीय गन्तव्य मेघौली वन्यजन्तु तथा चराचुरुङ्गी पिँजडामुक्त बनेको छ ।

नेचर गाइड एसोसिएशन मेघौली–घडगाईँले वन्यजन्तु सप्ताह (वैशाख १–७)को अवसरमा मेघौली गाउँलाई वन्यजन्तु तथा चराचुरुङ्गी पिँजडामुक्त गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेको प्रमुख आतिथ्यतामा मेघौलीलाई वन्यजन्तु तथा चराचुरुङ्गी पिँजडामुक्त गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीलाई वन्यजन्तु तथा चराचुरुङ्गी पिँजडामुक्त बनाउने क्रममा सुगा, मैना, बाँदरलगायतका पंक्षी/वन्यजन्तुलाई बन्धन मुक्त गरिएको थियो । वन्यजन्तु तथा चराचुरुङ्गीलाई पिँजडामुक्त गर्ने स्थानीयलाई सम्मानसमेत गरिएको थियो । पिँजडामुक्त गर्नेहरुले सम्मान लिँदै आगामि दिनमा वन्यजन्तुको संरक्षणमा सकृय बन्ने घोषणा गरेका थिए । सम्मानित हुनेमा विजय परियार, भिमबहादुर थापा कुमाल, अशोक कुमाललगायतका छन् ।

नेचर गाइड एसोसिएशन मेघौली–घडगाईँका अध्यक्ष मनिषकुमार लिम्बुले अभियान संचालन गरेसंगै मेघौलीलाई पिँजडामुक्त गाउँ बनाउन सफल भएको बताए । उनले भरतपुर महानगरपालिकाका वडा नम्बर २७ र २८ मा पिँजडा र अन्य बन्धनमा रहेको जानकारी भएका सबै पंक्षी तथा वन्यजन्तुलाई प्रकृतिमा छाड्दै पिँजडामुक्त गाउँ घोषणा गरिएको जानकारी दिए ।

उनले मैघौलीसंगै अब घडगाईँलाई पनि पिँजडामुक्त बनाउने अभियान थाल्ने बताए । ‘हामीले पहिलो पटक मेघौली क्षेत्रका २ वटा वडालाई पिँडामुक्त बनाउन सफल भयौं,’ अध्यक्ष लिम्बुले भने, ‘अब यसलाई निरन्तरता दिँदै भरतपुर महानगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज आसपासका सबै क्षेत्रलाई पिँजडामुक्त बनाउनुपर्छ ।’

वन्यजन्तु तथा चराचुरुङ्गीलाई मेघौलीबासीले कुनै सौखले पालेका थिएनन् । पिँजडामा राख्नु उनीहरुको बाध्यता थियो । विजय परियारले मध्यवर्ती क्षेत्रमा भेटिएको बाँदरलाई घरमा ल्याएर पालेका थिए । आफ्नै परिवारको सदस्यझैं उनले बाँदरलाई राखेका थिए । तर पछि बाँदरले परिवारका अन्य सदस्यलाई टोकेर दुःख दिन थालेपछि उनी वन्यजन्तुको शौखिन स्थानीय अशोक भण्डारीलाई बाँदर दिए । २ महिनादेखि भण्डारीले बाँदरलाई पालिरहेका थिए । केही दिनअघि संरक्षणकर्मीको आग्रहमा त्यो बाँदरलाई भण्डारीले वनमै लगेर छाड्न बाध्य भए ।
पंक्षीलाई पिँजडामुक्त गर्नेमा नारायणी मध्यवर्ती सामुदायिक वनका पूर्व अध्यक्ष भिमबहादुर थापा कुमाल पनि हुन् । ३ महिना अघि घर नजिकै बालबालिकाले लिएर हिँडेको सुगा एक सय रुपैयाँमा किनेर कुमालले पाल्न थालेका थिए । ‘मैले पंक्षीलाई दुःख दिने उद्देश्यले पालेको थिइन, प्रकृतिमै छाड्नुपर्छ भन्ने आवाज उठेपछि सुगालाई प्रकृतिमै छोडिदिए’–कुमालले सुनाए ।

भरतपुर–२८ मेघौलीका अशोक कुमालले नारायणी नदी नजिकै एउटा रुखमा सर्पले मैना चराको बच्चा खाइरहेको देखे । सर्पबाट चरालाई बचाउने उद्देश्यले उनले एउटा बच्चालाई उद्धार गरेर घर ल्याए । तर त्यसले मैनाको त्यो बच्चा एक वर्षको हुँदा संरक्षणकर्मीको आग्रहलाई उनले टार्न सकेनन् । अन्ततः प्रकृतिमै छोडिदिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>