Breaking News
विज्ञ भन्छन् : चितवनमा कोरोनाको नयाँ प्रजाति भेटिएको छैन

चितवन, वैशाख ७-
चितवनमा कोरोना संक्रमण दर बढ्दै गए पनि आजसम्म कोरोनाको नयाँ प्रजाति भने भेटिएको छैन ।
भरतपुर अस्पतालका कोरोना क्लिनिकल टिम कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलका अनुसार चितवनबाट पठाइएका नमुनाहरुमा नयाँ प्रजाति देखिएको बारे माथिबाट कुनै सूचना प्राप्त भएको छैन । उनले भने, ‘ नयाँ प्रजाति हो वा होइन भनेर पत्ता लगाउन त्यति सजिलो छैन । पूरै जीनको बारेमा अध्ययन गर्नुपर्छ ।’ उनले चितवनमा संक्रमण बढेसँगै भरतपुर अस्पतालको आईसीयूमा कोरोनाका बिरामीहरुको संख्या बढेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘भरतपुर अस्पतालमा कोरोनाका लागि छुट्याइएको आईसीयू बेड १० वटा रहेकोमा ८ जना बिरामी रहेका छन् ।’ उनले गम्भीर खालका बिरामीलाई तत्कालै उपचार गर्नको लागि अस्पतालमा हाई डिपेन्डेन्सी युनिट पनि सञ्चालनमा ल्याइएको छ । उनले नयाँ प्रजातिको कोरोनामा संक्रमण दर बढी रहेको जानकारी दिए ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भइसकेको छ । पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो।
२८ वर्षीया महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको थियो । उक्त भाइरस बेलायतमा देखिएको नयाँ भाइरस भएको पुष्टि भएको हो । तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल आरटी पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण भने देखिएको थिएन ।
कस्तो हुन्छ नयाँ भाइरस ?
नयाँ भाइरस अझ बढी संक्रामक पाइएको छ भने यसको अनुवांशिक गुण पनि बेग्लै भेटिएको छ । जतिबेला कोरोना भाइरस संसारभर फैलियो, त्यतिबेलै यसमा अनेक रूपान्तरण पनि हुँदै गयो । यसरी भएका रुपान्तरणमध्येकै यो पनि एक हो। भाइरसमा हुने परिवर्तनले यस्तो रूपान्तरण गर्छ । अहिलेको यो नयाँ रूपान्तरणलाई ‘बी.१.१.७’ नाम दिइएको छ र यसका आफ्नै खाले गुण छन्।
अध्येताहरूले जब यसको ‘जिनोम’ मिहिन अध्ययन गरे, त्यतिबेला यसमा तुलनात्मक रूपले ठूलै परिवर्तन भएको पाए । वैज्ञानिक हिसाबले हेर्दा २३ अंकको परिवर्तन भेटियो । कोरोना भाइरसमा भएका धेरैजसो परिवर्तनले भाइरसलाई या त नोक्सान वा प्रभावहीन पारिदिँदै आएको थियो । तर बी.१.१.७ नाम दिइएको यो परिवर्तन भने संक्रमण विस्तार गर्न एकदमै प्रभावकारी हुने अवस्था देखियो ।
प्रारम्भिक अध्ययन गर्ने संयुक्त अधिराज्यका अनुसन्धाताहरूले फेलापारे अनुसार बेलायतको दक्षिणी भेगमा यो भाइरस तीव्र गतिमा संक्रमित पार्न सक्ने गुणको भेटिएको थियो। जबकि परिवर्तित अन्य भाइरस महिनौं अगाडिदेखि देखापर्दै आए पनि तिनमा यस्तो तीव्र रफ्तार देखिएको थिएन । तर कुनै पनि भाइरस बढी मात्रामा समुदायमा फैलिएको देखिनुलाई मात्र आधार बनाएर त्यो अधिक तीव्र गतिको संक्रामक छ भन्ने निश्कर्षमा पुग्न सकिँदैन । कहिलेकाहीँ संयोगले पनि कुनैकुनै भाइरस बढी फैलिरहेको हुन्छ ।
उदाहरणका निम्ति कुनै प्रजातिको भाइरस असाध्यै भीडभाड हुने सहरको मध्य भागमै विकास भयो भने त्यसको विस्तार सहजै हुन सकिरहेको हुन्छ । बेलायतको नयाँ भाइरस तीव्र गतिमै संक्रमण विस्तार गर्नसक्ने किसिमको भेटिएको महामारी विज्ञानका तथ्यले देखाएका छन् । जुनजुन स्थानमा यो भाइरस भेटिएको छ, ती स्थानमा कोरोना भाइरसका बिरामीको कुल संख्या बढ्दै गइरहेको छ ।
लन्डनस्थित इम्पेरियल कलेजका महामारीविज्ञ नेल फर्गुशनका अनुसार यो नयाँ प्रजातिमा बेलायतमै पाइने कोरोना भाइरसका अन्य प्रजातिभन्दा ५० देखि ७० प्रतिशत बढी संक्रमित पार्न सक्ने गुण देखिएको छ ।
यो भाइरस केटाकेटीमा कसरी सर्छ भन्नेबाट पनि संक्रमण दर वृद्धिबारे अनुमान लगाउन सकिने केही वैज्ञानिकहरूको तर्क छ । सामान्यतया वयस्क वा किशोर उमेरकाभन्दा केटाकेटीमा भाइरस सर्ने सम्भावना अलि कमै हुन्छ ।
’तर, यो नयाँ प्रजाति केटाकेटीका मामिलामा पनि वयस्ककै मात्राको संक्रामक हुनसक्छ,’ बेलायत सरकारका सल्लाहकार तथा इम्पेरियल कलेज लन्डनकी भाइरसविज्ञ वेण्डी बर्क्ले भन्छिन् । यो प्रजाति वास्तवमै बढी संक्रामक छ कि छैन भनेर हेर्न अध्येताहरूले यसको ल्याब परीक्षण तीव्र बनाएका छन् । त्यस्तो परीक्षणमा यसले कोषहरूलाई कसरी प्रभावित पार्दो रहेछ भन्ने सुक्ष्म तवरले नियालिँदैछ ।
’हामीले पहिले नै अपनाएका भौतिक दुरी, मास्क, हात धुने र स्यानिटाइजर लगाउने जस्ता सुरक्षा उपाय नै यसका मामिलामा पनि प्रभावकारी हुनेछ,’ युनिभर्सिटी अफ सेन्ट एन्ड्रयुज स्कुल अफ मेडिसिनकी संक्रामक रोग विशेषज्ञ डा. म्युज सेभिक भन्छिन्, ’यति कुरा चाहिँ अहिल्यै थाहा भइसकेको छ ।’
























