Breaking News
विक्रम बाबामा थाकस गर्यो क्षमा तथा नित्य पूजा

चितवन, वैशाख ७–
थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विक्रम बाबामा क्षमा पूजा गरेको छ । मंगलबार विहान थाकसको तर्फबाट पुजारी ठगाई महतोले विक्रम बाबामा क्षमा तथा नित्य पूजा गरेका थिए ।
कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा परम्परालाई निरन्तरता दिनका लागि विक्रम बाबामा क्षमा तथा नित्य पूजा गरिएको थाकस चितवनका सभापति ललित चौधरीले बताए । ‘गतवर्ष पनि विक्रमबाबा मेला लाग्न पाएन, यसपटक पनि सोही अवस्था भएपछि क्षमा पूजा गरेका हौं’–सभापति चौधरीले भने ।

समग्र चितवनका थारु समुदायको तर्फबाट विक्रम बाबासंग क्षमा माग्दै पूजा गरिएको हो । गतवर्ष पनि थाकसले समुदायको प्रतिनिधित्व गर्दै पूजा गरेको थियो । गतवर्ष लकडाउनका कारण भक्तालुहरु विक्रम बाबा पुग्न नपाएपछि थाकसले प्रशासनसंग समन्वय गरेर पूजा गरेको थियो । यसपटक पनि निकुञ्जले औपचारिक रुपमा भिडभाड गर्न रोक लगाएपछि थाकसले पहलकदमी लिएर पूजा गरेको हो । यसवर्ष भने केही भक्तालुहरु पूजा गर्न पुगेका छन् ।
क्षमा पूजा कार्यक्रममा चितवनका प्रशासनिक निकायका प्रमुख समेत सहभागि थिए । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक) ओमप्रसाद अधिकारी, शसस्त्र प्रहरीका प्रमुखलगायतले समेत विक्रम बाबाको पूजा गरेका थिए ।
यस्तै क्षमा पूजामा थाकसका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी, पूर्व न्यायधिश नन्दलाल महतो, जयशचन्द्र चौधरी, विक्रम चौधरीलगायतको थाकसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

परापूर्वकालदेखि थारु समुदायले पूजा गर्दै आइरहेको विक्रम बाबा (देवता)लाई यसवर्ष पूजाआजा गर्न केही दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रम बाबालाई दर्शन गर्न विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुगेका थिए ।
विगतमा ठूलो मेला लाग्ने गरेपनि यसपटक कोरोना भाइरसका कारण निकुञ्जले मेलामा रोक लगाएको छ । निकुञ्जले धेरै भिडभाड नहुने गरी दर्शनार्थीहरुलाई निकुञ्ज भित्र प्रवेश गर्न दिएको छ । चैते दशैको अवसरमा अष्टमी र नवमीमा विशेषगरी विक्रम बाबाको पूजा गर्ने गरिन्छ । थारु समुदायले परापूर्वकालदेखि सन्तान प्राप्त होस् भनि विक्रमबाबाको भाकल गर्दै आइरहेका छन् ।

सन्तान प्राप्त भएपछि पशुबली दिइन्छ । पछिल्लो समय थारु समुदायका अलवा अन्य समुदायको पनि विक्रमबाबा प्रति आस्था बढेको छ । किंवदन्तीका अनुसार विक्रम नाम गरेको थारु गुरौंको बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पुरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ती, मनोकामना पुरा हुने परम्परागत विश्वास गरिँदै आएको छ ।























