Breaking News
चितवनमा थप ३० जनालाई कोरोना संक्रमण, गोरखाका ५५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु

चितवन, वैशाख ७-
चितवनमा विगत २४ घण्टामा थप ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा २२ जना, खैरहनीमा चार जना, रत्ननगरमा ३ जना र राप्तीमा १ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै चितवनमा संक्रमितको संख्या सात हजार १२९ जना पुगेको छ । मृतकको संख्या ११४ जना छ ।
गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना संक्रणमबाट आज भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको गोरखा नगरपालिकाका वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
‘बिहान करिब ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ’, वडाध्यक्ष खड्काले भने, ‘मृतकको शव व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।’ वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर ल्याइएको ती पुरुषमा सोमबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो ।
भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । कोरोना संक्रमणबाट मृत्यु भए ती पुरुषको सम्र्पकमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उनले जानकारी दिए ।
संक्रमितको सम्र्पकमा रहेकालाई सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
























