Breaking News
भरतपुर अस्पतालको कोभिड आइसियू भरियो, चितवन मेडिकल कलेजमा राख्न थालियो बिरामी

चितवन, वैशाख ६–
चितवनमा गम्भिर प्रकृतिका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसंगै भरतपुर अस्पतालको कोभिड आइसियू भरिएको छ ।
१० बेड क्षमताको कोभिड आइसियू सबै भरिएको अस्पतालका कोभिड फोकल पर्सन डा.प्रमोद पौडेलले जानकारी दिए । आइसियूमा बिरामीको संख्या बढेसंग अस्पतालमा एचडियू कक्ष निर्माण गरिएको छ । अक्सिजनको मात्रै आवश्यकता पर्ने बिरामीलाई एचडियू कक्षमा राख्न थालिएको छ ।
संक्रमण पुष्टि हुनेमा धेरैजसो गम्भिर प्रकृतिका बिरामी छन् । उनीहरुलाई तत्कालै आइसियूको आवश्यकता पर्न सक्छ । ‘गम्भिर प्रकृतिका बिरामीलाई एचडियू र आइसियूमा मिलाएर राख्न थालेका छौं, यहि गतिमा बिरामी आउन थाले उपचार गर्न गाह्रो हुन्छ’–डा.पौडेलले भने ।
सरकारले स्थानीय सरकारी अस्पतालमा मात्रै कोभिडका बिरामीको उपचार गर्न पाउने कार्यविधि बनाएको थियो । सोही अनुसार जिल्लाको ठूलो अस्पताल चितवन मेडिकल कलेज (सिएमसी)ले कोभिडका बिरामी उपचार गर्न छोडेको थियो । तर कोभिडका बिरामी बढ्न थालेपछि सिएमसीले पनि उपचार गर्न थालेको छ ।
अस्पतालका फोकल पर्सन पारस अधिकारीका अनुसार सिएमसीमा १५ जना संक्रमितको उपचार थालिएको छ । अहिले ६ जना गम्भिर प्रकृतिका बिरामीको आइसियूमा उपचार भइरहेको छ । बाँकी बिरामीलाई एचडियू कक्षमा राखेर उपचार थालिएको अधिकारीले बताए । ‘अस्पताल आएपश्चात कोभिड पुष्टि भएका बिरामीको उपचार थालेका छौं, रिफरमा आउने गरेका बिरामीलाई राख्न समस्या भइरहेको छ’–अधिकारीले भने ।
कोभिड लक्षणसंग मिल्दोजुल्दो भएका बिरामीको तत्काल रिपोर्ट नआउँदा बिरामीको उपचारमा कठिनाई भइरहेको उनले बताए । ‘गम्भिर प्रकृतिका बिरामीलाई तत्कालै कोरोना रिपोर्टको अभावमा उपचार गर्न कठिनाई भइरहेको छ, न कोभिड आइसियूमा राखेर उपचार गर्न सकिन्छ न त सामान्य आइसियूमा नै’ अधिकारीले भने ‘यसो हुँदा कर्मचारी पनि बढी संक्रमित हुने डर बढ्यो ।’























