Breaking News

चितवनका हरि बने डेनमार्कको कोपनहेगन महानगरको उम्मेदवार

Banner

कोपनहेगन, वैशाख ५-

भरतपुर महानगरपालिका –२२ चितवन स्थायी घर भएका हरि न्यौपाने डेनमार्कको राजधानी कोपनहेगन महानगरको सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
उनी सन् २००५ जन्मभूमि चितवन छाडेर डेनमार्क उच्च शिक्षाको लागि गएका थिए । तर, चितवनका विभिन्न गल्लीगल्लीमा साइकलमा हिडडुल गर्ने न्यौपानेले छोटो अवधिमै डेनमार्कको राजनीतिमा अस्तित्व देखाइसकेका छन् ।

आउने नोभेम्बर १६ तारिखमा हुने स्थानीय निर्वाचनका कोपनहेगन महानगरपालिका (कम्युन) मा उनी पनि एक जना उम्मेदवार हुन् । डेनमार्गको राजधानी सहर भएकोले पनि त्यो ठाउँको आफ्नै राजनीतिक महत्व छ । हरि यस्तो ठाउँमा उनी डेनमार्कको सत्तारुढ सोसियल डेमोक्रेट पार्टीबाट उम्मेदवार बनेका हुन् ।

हरि उम्मेदवार भएको कोपनहेगनको बिस्पबिया क्षेत्रको ‘स्थानीय नेता’ (लोकल पोल्टिसियन) पदमा हो । कोपनहेगन महानगरपालिका भित्र १० वटा क्षेत्र छन् । जसमध्ये १ बिस्पबिया हो । कोपनहेगनभरिबाट जम्मा विजयी हुनुपर्ने ५५ जना हो । उनको क्षेत्रबाट ५ जना मात्रै विजयी हुनेछन् ।

चुनावी प्रतिस्पर्धामा भने डेनमार्कका सबै राजनीतिक पार्टीबाट एक हजार जनाभन्दा बढी उम्मेदवार छन् । जसमध्ये एक जना न्यौपाने हुन् । विजयी हुने ५५ जनाबाट कोपनहेगन महानगर पालिकामा १ लर्ड मेयर, ६ जना मेयर र बाँकी सबै स्थानीय नेता हुने छन् ।

‘निर्वाचन नोभेम्वर १६ मा हुने भए पनि यहाँ त अहिलेबाटै चुनाव लाग्छ, नोमिनेसन भइसक्यो,’ चुनावी तयारीको पहिलो चरणमा व्यस्त न्यौपानेले भने, ‘अहिले आन्तरिक तयारीमा पार्टी र साथी सर्कलमा इलेक्सनकै लागि खटिरहेको छु ।’ मार्च ७ तारिखमा उम्मेदवारहरुको अन्तिम लिष्ट आइसक्यो ।

डेनमार्कको सत्तारुढ सबैभन्दा ठूलो पार्टीबाट उम्मेदवार बनेकाले न्यौपाने विजयी हुने सम्भावना धेरै छ । यसपाली उनले झन्डै एक हजार मत प्राप्त गरेको खण्डमा पदमा पुग्नेछन् । डेनमार्कमा स्थानीय चुनाव हरेक ४ वर्षमा हुन्छ ।

सन् २०१७ मा भएको स्थानीय निर्वाचनमा पनि न्यौपाने उम्मेदवार बनेका थिए । त्यतिबेला झण्डै २०० मत नपुगेकाले न्यौपाने विजयी हुन सकेनन् । त्यतिबेला करिब ७ यस मत पाएका थिए। ‘यसपाली विजयी हुनेमा ढुक्क छु, मेरोबारे पार्टी र बाहिर सबैतिर राम्रो प्रचार भएको छ,’ उनले भने।

सोसल डेमोक्रेट्स पार्टीको बिस्पबिया क्षेत्रका उपाध्यक्ष समेत रहेका उनको नाम लिष्टको २८ नम्बरमा छ । स्थानीय चुनाबमा दुई तरिकाले भोट हाल्न सकिने यहाँको व्यवस्था छ । पत्रमार्फत र मतदान गरेर ।

कोपनहेगन क्षेत्रको १ र २ मा ३ वर्षदेखि बस्दै आएका नेपाली तथा विदेश सबैले भोट हाल्न पाउने अधिकार छ । यो क्षेत्रमा नेपालीहरुको बाक्लो बसाई छ । आगामी नोभेम्बर १६ तारिखमा हुने चुनावमा पत्रमार्फत भोट हाल्न अक्टोबर १० तारिखदेखि खुल्ने छ । अन्तिम मतदान १६ नोभेम्वरमा हुनेछ।

स्थानीय चुनावलाई डेनिस राजनीतिमा महत्वका साथ हेरिन्छ । ‘थिंक ग्लोबल्ली एन्ड यक्ट लोकल्ली’ भने झैँ डेनमार्कको सिंगो विकासमा सोचे पनि काम चाहिँ हरेक स्थानीय तहबाट सुरु गर्ने यहाँको पद्दति छ । हरेक स्थानीय क्षेत्रको विकास हँदा सिंगो देशको विकास हुन्छ भन्ने डेनिस राजनीतिको मान्यता हो ।

‘नीति नियम पनि स्थानिय तहबाटै नै तय गरिन्छ, विशेष अवस्थामा मात्रै संसदीय भवनको हस्तक्षेप रहन्छ,’ न्यौपानेले प्रष्ट पारे। स्थानीय नेता पदमा विजयी भएमा स्थानीय नीति निर्माण तह, संस्कृति र वातावरण संरक्षणका साथै डेनिस समाजको विकासका लागि काम गर्नुपर्ने उल्लेख छ । सेवा सुविधामा राम्रै तलब भत्ता र छुट्टै कार्यकक्ष प्राप्त हुन्छ ।

डेनमार्कका नेपालीहरुका लागि अति आवश्यक र डेनिस अनि अन्य आप्राबासीबीचमा पनि सोधीखोजीको सूचीमा छन् उनी । कानुनी जटिलता र भाषा लगायतका समस्यामा यहाँका नेपाली र अरु देशका केही आप्रावासीले लिने पहिलो नाम हो हरि । कानुनी प्रक्रिया, भिसा समस्या र भाषाको रुपमा सक्दो सहयोग गर्दै आएका छन् ।

कोरोना महामारीको बेलामा पनि उनले सूचना आदानप्रदान र सरकारले प्रदान गरेका राहात सहयोग लगायतमा पनि राम्रो सहयोग पु¥याएको भन्दै नेपाली तथा अन्य देशका आप्रावासीले न्यौपानेको खुलेर तारिफ गर्ने गर्छन् ।

नेपालमा छँदा वामपन्थी राजनीतिमा चासो राख्ने ४३ वर्षीय न्यौपाने यता बस्दाबस्दै समाजसेवा तथा राजनीतिमा पनि सक्रिय रुपले लागे । नेपाली विभिन्न सामाजिक संघसंस्थामा सक्रिय उनी सरकारी कम्पनीमा ग्राहक सेवा प्रतिनिधि, दोभाषे तथा कोपनहेगन कम्युनमा मेन्टरका रुपमा कार्यरत छन् ।

सन् २०१२ मा पार्टीको सदस्यता लिएर डेनिस भाषा राम्रो बुझ्न थालेपछि राजनीतिमा होमिएका उनी यसपछी सांसदको चुनाव हुँदै युरोपियन युनियन संसदसम्म पुग्ने उद्देश्य रहेको योजना सुनाए । उनले आप्रावासीको हक हितमा काम गर्ने भन्दै राजनीतिक पाइला अघि बढाएको बताए । आप्राबासीको पक्षमा मुख्य मुद्दा बनाएर चुनावमा होमिएका हुन् ।

डेनमार्कमा करिव ५ हजार नेपालीहरु रहेको अनुमान छ । न्यौपाने उम्मेदवार बनेको क्षेत्रीय नेपालीहरुको बाक्लो बसोबास छ।

डेनमार्कको स्थानीय निर्वाचनमा विगतमा ५६ देखि ६० प्रतिशत मात्र मत खस्ने गरेको इतिहास छ । संसदीय निर्वाचनमा भने ६० प्रतिशत माथि मत खस्ने गरेको छ । यो चुनावमा डेनमार्कमा ३ वर्षभन्दा बढी समयदेखि बसोबास गरेका स्वदेशी वा विदेशी हरेक नागरिकले भोट दिन पाउँछन् ।

जुनसुकै ‘स्ट्याटस’ मा डेनमार्क बसेका ३ वर्ष अवधि पुगेका १८ वर्ष माथिका नेपाली र अन्य विदेशी एवं आप्रवासीहरुले समेत मतदानमा भाग लिन पाउनेछन्।

संसारभर आप्रवासी नीतिमा कडाइ हुँदै गएको सन्दर्भमा डेनमार्कको सोसियल डेमोक्रेट्सले पनि आप्रवासीप्रतिको दृष्टिकोणमा केही साँघुरोपना अपनाउन थालेपछि खरो विरोधमा उत्रेको दाबी उनले गरे। ‘पार्टीभित्र आप्रवासीका पक्षमा खुलेर लाग्ने गरेको छु ।’ उनले थप े। डेनमार्कको इतिहास, राजनीति, अर्थ लगायतका क्षेत्रमा अध्ययन गरेर अघि बढेको उनको भनाइ छ।

न्यौपानेका चुनावी एजेन्डा

आप्रवासीको हक र हितका मुद्दा प्रमुख रुपमा उठाएका न्यौपानेले जितेमा पार्टीले विदेशीलाई हेर्ने नीति आप्रवासीमैत्री बनाउनेमा विशेष भूमिका निर्वाह गर्ने बताउछन्। विकास निर्माण, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका नीति निर्माण गर्न सक्रियतापूर्वक लाग्ने उनको भनाइ छ ।

कोपनहेगनमा प्रत्येक वर्ष १० हजार भन्दा बढी व्यक्तिहरुको आगमन भएकाले भाडामा बस्ने सस्ता अपार्टमेन्ट बनाउने, सोसल कन्ट्रोलले आफ्नो बच्चा र परिवारका सदस्यहरुमा नराम्रो असर पर्ने भएकाले यसको विषयमा आफ्ना मुद्दाहरुलाई अगाडि दमदार हिसाबले अघि बढाउने योजना रहेको सुनाए।

‘काम सबैका लागि र ठाम सबैका लागि’ भन्ने मर्मलाई आत्मसात गरेको उनी सुनाउँछन्।

नेपालीहरुको पक्षमा पनि थुप्रै काम गर्ने उनले सूची तयार पारेका छन्। जसमा नेपाली समाजका लागि एउटा साझा घर ‘नेपाल हाउस’ स्थापना गर्ने, नेपाली सांस्कृतिक केन्द्र सुरुआत गर्ने, नेपाली समुदायका लागि नियमित रेडियो कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायत छन्।

‘शिक्षा, स्वास्थ्य लगायतमा समुदायको विकासका लागि ल्याइएका परियोजनाहरू नेपाली समुदायतिर तान्न पनि कोसिस गर्नेछु ।’ न्यौपानेले भने । कामका सिलसिलामा डेनमार्क आइपुगेका नेपालीहरुका लागि सम्भावित कामका क्षेत्र र अवसरबारे सचेत गराउन ‘जब एजेन्ट’ का रुपमा समेत आफ्नो भूमिका फराकिलो बनाउने उनको प्रतिबद्धता छ ।

‘हरि जिताऊँ’ अभियानमा नेपाली

न्यौपानेलाई यसपाली जसै गरि विजयी गराउँनको लागि नेपाली समुदाय अहिलेबाटै अग्रसर भएर लागेको छ। केही दिनअघि ‘हरि जिताऊँ’ अभियान थाल्न निर्वाचन तयारी समितिसमेत गठन भएको छ ।

डेनमार्कको नेपाली समाजका अगुवा समेत रहेका प्रवासी नेपाली एकता मन्च डेनमार्कका अध्यक्ष उदयराज गौतमले हरि न्यौपानेलाई विजयी गराउन कोपनहेगन क्षेत्र १ र २ का सबै नेपालीलाई अनुरोध गरेका छन् ।

यसैगरी एनआरएनए डेनमार्कका महासचिव शैलेन्द्र अधिकारीले नेपाली समाजको गौरवको रुपमा न्यौपाने रहेकाले उनलाई विजयी गराउन बृहत् अभियान चलाइने बताए।

एनआरएनए डेनमार्कका पूर्व अध्यक्ष यमलाल सुवेदी र पूर्व महासचिव शिव कार्कीको संयोजकत्वमा हरि जिताऊँ निर्वाचन तयारी अभियानले विभिन्न योजनाका साथ अघि बढेको छ । डेनमार्कमा रहेका नेपाली महिलाहरुको साझा संस्था क्रियटिभ नेप्लिज ओमनका उपाध्यक्ष मेनिता तामाङले पनि सबै एकजुट भएर जिताउनुपर्ने आवश्यकता आौंल्याइन् ।

संयोजकद्वय सुवेदी र कार्कीले न्यौपानेलाई जिताउन योजनाबद्ध रुपमा चुनावी प्रचार अभियान थालिने बताए।

‘निश्चित खाका बनाइ कोपनहेगन क्षेत्रभित्र बस्ने नेपालीहरुको नामावली तयार गरी अगाडि बढिरहेकाले तयारीको हिसाबले हेर्दा यसपालि चुनावी गतिविधि अघि बढाउन सजिलो हुने देखिन्छ र जसरी पनि हरिजीलाई जिताइन्छ,’ उनीहरुले भने।

हरि जिताऊँ अभियानका निर्वाचन म्यानेजर राजेन्द्र पौडेलले सबै हिसाबले अहिले बाटै तयारी तिव्र पारिएकाले जित निश्चित जस्तै भएको दाबी गरे।

(महेशकुमार खाती, सेतोपाटी )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>