Breaking News

भरतपुरबाट भैरहवा उडान गर्दै बुद्ध एयर, सडकमा हुने सास्तीबाट यात्रुले मुक्ति पाउने आशा

Banner

चितवन, वैशाख ५-

भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको बुद्ध एयरले अबदेखि भरतपुरबाट भैरहवा पनि उडान गर्ने भएको छ ।

यही मे १ देखि नयाँ गन्तव्यमा  उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ । हरेक दिन जस्तो उडान गर्ने तयारी गरेको बुद्ध एयर भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मे १ बाट उडान गर्ने योजना बनाएका छौं । भाडादर निर्धारण गरिसकेको छैन ।’ उनले भरतपुरबाट काठमाडौँ र भैरहवा बराबर दूरीमा रहेको जानकारी दिए । नारायणगढ–वुटवल सडक विस्तारमा भएको ढिलासुस्तीबाट पनि नागरिकले सास्ती पाउनु परेकोले उडानले यात्रुले पाएको सास्ती र झन्झटबात मुक्ति पाउने उनको आशा छ ।

अहिलेसम्म काठमाडौंतर्फ हुने उडानमा मात्र धेरै ट्राफिक देखिएकाले आन्तरिक उडान गर्ने एयरलाइन्सले नयाँ उडान रुट थपिरहेका छन् । अहिले सडक विस्तारको काम चलिरहेकोले भरतपुरबाट भैरहवा पुग्न झण्डै ६ घण्टासम्म सडकमा लाग्ने गरेको छ । विगतमा पनि नारायणगढ–मुग्लिन सडक विस्तारको काम हुँदा भरतपुरबाट काठमाडौँ हुने उडानको संख्या बढेको थियो भने यात्रुको चाप पनि बढेको थियो । अहिले दैनिक बुद्ध एयरले काठमाडौँ र पोखरा दैनिक ८ वटा उडान गर्दै आएको छ । भरतपुरबाट भैरहवा उडान २० मिनेटको हुने बुद्ध एयरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>