Breaking News

चितवनमा खाने तेलको मूल्य आकाशियो, कोरोनाको नाममा उद्योगीले मनपरी मूल्य बढाएको आरोप

Banner

चितवन,चैत १७ –

चितवनमा पछिल्लो समय खाने तेलको मूल्य झण्डै दोब्बरले बढेको छ ।

खासगरी भटमास, सनफ्लावर तथा तोरीको तेलको मूल्य उच्च भएको हो ।

साउनदेखि चैतको बीचमा खाने तेलको मूल्य लिटरमै झन्डै सय रुपैयाँले बढेको छ । दाल, चामल, पिठोलगायतका खाद्यान्नको मूल्यको तुलनामा तेलको भाउ थेग्नै नसक्ने गरी बढेको पाइएको हो । किनारा व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्र श्रेष्ठले १० लिटर हुने एक कार्टुन तेलको मूल्य १६ सय रुपैयाँबाट २२ सयसम्म पुगेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ यसमा किनारा व्यवसायीको दोष छैन । उद्योगहरुले मनपरी मूल्य बढाइरहेका छन् । ’ उनले उद्योगीहरुले विदेशमा कच्चा पदार्थको मूल्य बढेको भन्दै खाने तेलको मूल्य बढाएको बताए ।

गोरखाली किनारा स्टोर्स भरतपुर महानगरपालिका–११ बसेनीका व्यवसायी उमेश अधिकारीले सबै भन्दा धेरै मूल्य सनफ्लावर तेलमा बढेको बताए । उनले भने, ‘ सबै ब्राण्डका खाने तेलमा न्यूनतम ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म प्रतिलिटर बढेको छ ।’ उनले अहिले प्रति १० लिटरको एक कार्टुन तेल सन्फ्लावरलाई २२५० रुपैयाँ, धारा तोरीको तेल १९०० सम्म पुगेको बताए ।

नेपालमा पछिल्लो समय जुन रूपमा खाने तेलको मूल्य बढिरहेको छ यसमा स्वदेशी उद्योगी तथा व्यवसायीको भन्दा पनि अन्तर्राष्ट्रिय बजारले गर्दा मूल्य बढेको उद्योगीहरु बताउँछन् । नेपालको खाने तेलको मूल्य बढ्ने वा घट्नुमा अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने गैँडाकोटका तेल उद्योगी मदन सापकोटाले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ तेलको लागि आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने भएकोले कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढेको हो ।’ उनले भट्टमास र सूर्यमुखी तेलको लागि आवश्यक कच्र्चा पदार्थ अमेरिका, रसिया, क्यानडा र अष्ट्रेलियाबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘ तेलको मूल्यको निर्धारण विदेशबाटै हुने गर्छ । कोरोना भन्दा अगाडि १२०० डलर पर्ने एक हजार किलो तेलको मूल्य अहिले १८ सय पुगेको छ ।’

नेपालमा खाने तेल उत्पादन गर्ने उद्योगको संख्या धेरै छ । मागको तुलनामा चार गुणा बढी आपूर्ति पनि भइरहेको छ । यस्तो अवस्थामा कुनै व्यापारीले चाहेर पनि तेलको भाउ बढाउने वा कार्टेलिङ गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीहरू बताउँछन् । मूल्यवृद्धिको सबैभन्दा बढी मारमा आमउपभोक्ताहरु परिरहेका छन् ।

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले सरकारले पनि प्रभावकारी बजार अनुगमन गर्न नसक्दा मूल्य वृद्धि भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कतिपय तेल उद्योगीहरुले हचुवाको भरमा मूल्य बढाइरहेका छन् । तथ्यमा आधारित भएर कुन कच्चा पदार्थको कति मूल्य बढेको छ भनेर वास्तविक तथ्यांक उपलब्ध गराउन सकेका छैनन् ।’ उनले सरकारी अनुगमन झारा टार्ने काम जस्तो मात्र भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>