Breaking News

पकौडी दुर्घटनाका बस चालक दुरा विरुद्ध सवारी ज्यान मुद्दा, तीन मृतकको आज देवघाटमा अन्त्येष्टि

०
Banner

मधुसूदन दवाडी

चितवन, चैत १६–

पश्चिम चितवनको पकौडीमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध आज सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।

उनले चलाएको बसले शनिबार साँझ ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिँदा एकै परिवारका तीनको मृत्यु भएको थियो । मृतक तीनै जनाको अहिले देवघाटमा अन्त्येष्टि हुँदै गरेको मृतकका आफन्त दिपक दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने,‘यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्तेष्टिमा ढिलाइ भएको हो । भरतपुर अस्पतालमा पोष्टमार्टम गरेर अन्त्येष्टिको लागि लगिएको छ ।’
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।
जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार अन्य दुईको मृत्यु भएको थियो । बसका चालक दूरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । संयोग पनि कस्तो थियो भने मृतक मोहन पनि सोही रुटको भरतपुरबाट ठोरीसम्म चल्ने बसको सवारी चालक नै रहेको पारिवारिक स्रोतले नारायणी अनलाइनलाई बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>