Breaking News

विदेशमा कोरोना संक्रमणबाट थप तीन नेपालीको मृत्यु, २२ देशका ३४५ जनाले ज्यान गुमाए

Banner

लण्डन, चैत १५-

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार बेलायतमा एक जना र क्यानाडामा एक जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म हालसम्म २२ देशमा रहेका ३४५ जना नेपालीको निधन भएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५३ देशमा ६३ हजार ८५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ९८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको छ । यसैबीच, कोरोना भाइरसका कारणनेपालमा तीन हजार ३७ जनाको निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७६ हजार ७५० जना छ भने दुई लाख ७२ हजार ४३५ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलब ४ प्रतिशत छ । स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइका साथ पालना गर्न उनले सुझाएका छन् ।

यसैबीच काठमाडौंमा पछिल्लो समय फैलिएको धुलो धुवाँबाट जोगिन स्वास्थ्य समितिले सुझाव दिएको छ । डा सापकोटाले प्रदूषणले स्वासप्रश्वास लगायत भर्खरै कारोना संक्रमणमुक्तहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उनले बताए । अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउन, मास्क तथा चस्मा समेत लगाउन डा सापकोटाले सुझाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>