Breaking News
तुवालोले भरतपुर विमानस्थलका सबै उडान तीन दिनदेखि अवरुद्ध, दैनिक हजार बढी यात्रु प्रभावित

चितवन, चैत १५-
तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा तीन दिनदेखि आजसम्म भरतपुर विमानस्थलका सबै उडान प्रभावित भएका छन् ।
बिहान समय तालिका पाएका यती र बुद्ध वायुसेवा कम्पनीका नियमित उडान प्रभावित भएको भरतपुर नागरिक उड्डयन कार्यालयले जनाएको छ । चितवनसहित देशका १७९ ठाउँमा वनमा डँडेलो लाग्दा भएको वायुप्रदुषणका कारणले शुक्रबारदेखि भरतपुरबाट पोखरा र काठमाडौँ उडान हुन नसकेको कार्यालयले नारायणी अनलाइनलाई जानकारी दियो ।
नागरिक उड्डयन कार्यालय भरतपुरका प्रवन्धक योगेन्द्र कुँवरले बायु प्रदुषणले भिजिबिलिटी कम भएकोले कुनै पनि उडान गर्न नसकेको बताए । उनले भने, ‘ बुद्धका ९ उडान र यतीका ५ उडान गरी झण्डै ११ सय बढी हवाइ यात्रु प्रभावित भएका छन् ।’ उनले कहिले खुल्छ यसै भन्न नसकिने अवस्था रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।
भरतपुरको नवजागृति वनलगायत चितवन आसपासका जिल्लामा वनमा डँडेलो लाग्दा फैलिएको धुँवाले वायुप्रदुषण बढेको छ ।
























