खेलकुद

चितवनमा विजय खड्गी स्मृति गोल्डकप सुरु, नुवाकोट सेमीफाइनलमा प्रवेश

Banner

चितवन, चैत १२–

चितवनमा आज (बिहीबार)देखि ‘सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक समारोहकाबी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरिन् । सो क्रममा बोल्दै मेयर दाहालले चितवनमा खेलकुदको विकासका लागि एक वडा एक खेल मैदान बनाउने अभियान थालनी भएको बताइन् । उनले क्याम्पाचौरलाई मिनी रंगशालाको रुपमा विकास गर्न सकिने भन्दै यसका लागि बालकुमारी उच्च माविको साथ र सहयोग चाहिएको बताइन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोट युनाइटेड एफसीले विजयी भयो । घरेलु टोली सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएससी)लाई ३–० गोल अन्तरले पराजित गर्दै नुवाकोटले विजयी सुरुवात गरेको हो । नुवाकोटलाई जिताउन सजिन सजिन थापा मगरले २ तथा सिसिवस थापाले एक गोल गरे ।
पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै नुवाकोटले अग्रता लिएको थियो । भरतपुरका डिफेन्डर बिट भएको अवस्थामा गोलरक्षक मनोज गुरुङ अघि सरेको फाइदा उठाउदै नुवाकोटका सजिन थापा मगरले आकर्षक गोल गरे ।

दोस्रो हाफमा नुवाकोटले थप २ गोल गर्‍यो । दोस्रो हाफको १८ औं मिनेटमा सिसिवस थापाले नुवाकोटका लागी दोस्रो गोल गरे । नुवाकोटले प्रहार गरेको फ्री किक भरतपुरका गोलरक्षकले रोक्ने क्रममा भएको रिबाउन्डमा थापाले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको ३३ औं मिनेटमा सजिनले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित सुनिश्चित गरे । आजको जितसँगै नुवाकोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ दि म्याच नुवाकोटका सजिन थापा मगर घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) फर्साटिकर एफसी रुपन्देही र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुनेछ । अन्तिम समयमा मकवानपुरले सहभागी हुन नसक्ने जनाएपछि बुटवल आउने भएको हो ।

प्रतियोगितामा देशभरका १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रतियोगिताको मुख्य प्रायोजक हो । प्रतियोगिताबाट बचेको रकम स्व.फुटबलर विजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ । एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>