खेलकुद
चितवनमा भोलिदेखि ‘सेन्ट्रल कलेज विजय खड्की स्मृति गोल्डकप’ सुरु हुँदै

चितवन, चैत ११–
चितवनमा भोलि (विहीबार)देखि ‘सेन्ट्रल कलेज विजय खड्की स्मृति गोल्डकप’फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा नारायणगढस्थित क्याम्पाचौरमा सुरु हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको छ । संघले आज (बुधबार) पत्रकार सम्मेलन गरी मैदान सजाउनेदेखि दर्शकका लागि प्याराफिट निर्माणलगायतका सबै काम पुरा भइसकेको जानकारी दियो । संघका मिडिया कोअर्डिनेटर रामहरि ढकालले प्रतियोगिताको विहीबार एक औपचारिक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गर्ने जानकारी दिए । उनका अनुसार उद्घाटन खेलमा विहीबार सेन्ट्रल कलेज भरतपुर र नुवाकोट युनाइटेड फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लवसंगै सेन्ट्रल कलेज भरतपुर फुटबल क्लव, नुवाकोट युनाइटेड फुटबल क्लव, मकवानपुर ११, फरसाटकर फुटबल क्लव, लेखनाथ युनाइटेड कास्की, बागमती युवा क्लव सर्लाही, हानामी एभरेष्ट क्लव, अफ्रिकन रुट्स एशोसियसन र अभिषेक चर्च रजहर गरी १० टिमको सहभागिता रहने मिडिया कोअर्डिनेटर ढकालले जानकारी दिए ।
चैत २१ गतेसम्म चल्ने प्रतियोगिता हेर्नका लागि क्वाटरफाइनल सम्मका खेलका लागि रु.५०, सेमीफाइनल र फाइनल खेलको टिकट मुल्य रु.१०० राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँका साथै ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालगायतका विधामा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
चितवन जिल्ला फुटबल संघले भरतपुर महानगरपालिका–२ का जिल्लाका उत्कृष्ट फुटबल खेलाडी एवंम एन्फा एकेडेमीका २०५७ साल व्याचका प्रतिभासाली खेलाडी स्वर्गीय विजय खड्कीको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट बचेको रकम स्वर्गीय खड्कीको परिवारलाई प्रदान गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । स्वर्गीय खेलाडी खड्कीको वैदेशिक रोजगारीको शिलशिलामा कतारमा निधन भएको थियो । उनको एक श्रीमती र एक छोरा छन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघका संस्थापक अध्यक्ष श्याम पियाले स्वर्गीय खड्की एक कुशल खेलाडी भएको भन्दै चितवनको फुटबलमा उनको अभाव सधै महसुस भइरहेन बताए । संघले सम्झिएर खड्कीको स्मृतिमा फुटबल गर्नुको साथै उनको परिवारलाई पनि सहयोग गर्ने उद्देश्य राख्नु निकै सकरात्मक र प्रशंसनीय कार्य रहेको बताए ।
यस्तै प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज एण्ड भोकेशनल ट्रेनिङ सेन्टरका प्रमुख यज्ञविलास पौडेल (वाइबी)ले एउटा खेलाडीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएकोले ठूलो अर्थ राखेर प्रतियोगितामा सहयोगी भूमिका निर्वाह गरिएको बताए ।
























