Breaking News
चितवनमा निर्माणाधीन क्रिकेट रंगशालामा जीप सफारी, बाराका व्यवसायी लामिछानेले दिए जीप

चितवन, चैत ११-
भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जिप सफारी सुरु भएको छ ।
रंगशाला घुम्न देशका विभिन्न भागबाट आउनेहरुले जीप सफारी गर्ने मौका पाएका हुन् ।
चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा जंगली जनावर हेर्न जिप सफारी गर्ने प्रचलन भए पनि निर्माणाधीन रंगशाला घुम्नकै लागि जीप सफारी गरिएको भने पहिलो पटक हो ।
‘अरु बेला प्रायः एउटा जीपमा सफारी हुन्छ । बिदाका बेला र खास गरेर शनिबार मान्छे धेरै नै आउँछन् । त्यसैले सफारीका लागि दुईवटा जीप चल्छ,’ रंगशाला निर्माणको नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले भने । ‘जीप सफारीको आम्दानी पनि निर्माणमा नै उपयोग हुने छ,’ अध्यक्ष कट्टेलले भने । सफारी गर्दा एकजनाले दुई सय रुपैयाँ बुझाउने छ । जीपमा रंगशाला निर्माणको आवश्यकता र उपायबारेमा बुझाउन एक व्यक्ति पनि जीपमै हुन्छन् । ‘सुरुमा प्रायले जीपमा घुमौं न त भनेर चढ्छन् । कोही कोहीले यति घुमेको पनि दुई सय रुपैयाँ लिने भन्ने गुनासो गर्दछन् । तर, घुमेर आएपछि उल्टै तिनैले दुई चार हजार रुपैयाँ सहयोग थप्छन्,’ कट्टेलले भने ।
शनिबार वा बिदाको दिन रंगशाला हेर्न र सहयोग रकम बुझाउन भन्दै एक हजार ५०० देखि दुई हजारको हाराहारीमा विभिन्न ठाउँबाट मान्छे आउने गरेको उनले बताए । यीमध्ये कम्तीमा पाँच सात सयजनाले जीप सफारी गर्छन् । बाराका होटल व्यवसायी मोहन शर्मा लामिछानेले सफारी गर्नका लागि फाउन्डेशनलाई जीप नै उपलब्ध गराएका छन् । मान्छे धेरै हुँदाका दिनमा अर्को एउटा जीप भाडामा प्रयोग हुने गरेको छ । जीप सफारी हुन थालेपछि रंगशाला घुम्न आउनेहरुलाई सहज भएको छ ।
























