Breaking News

चितवनसहितका वन क्षेत्रमा भइरहको आगलागीले वायु प्रदुषण बढायो, चितवनमा हवाई उडान प्रभावित

Banner

चितवन, चैत ११–

पछिल्ला दिनहरूमा चितवनसहित देशका विभिन्न शहरहरुमा वायु प्रदुषण बढाएको छ ।

प्रि मनसुन सिजनमा यसपालि वर्षा नभएको र तराई क्षेत्रमा भइरहेको आगलागीले प्रदुषण बढाएको विज्ञहरु बताउँछन् । अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो वेवसाइटमा राखेका स्याटेलाइट तस्बिरहरूले चितवन र आसपासका जंगलमा भइरहेको आगलागीको असर हिमालसम्मै पुगेको देखाएको छ।

सो तस्बिरमा चितवन राष्ट्रिय निकुञ्जसहित चितवनका प्रायः वन क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, नवलपरासी, बर्दिया, सुर्खेतलगायतका ठाउँमा ठूलो क्षेत्रमा आगालागी भइरहेको देखिन्छ।

नासाको वेवसाइटमा रहेको उक्त स्याटेलाइट तस्बिरमा आगलागी भएको क्षेत्रमा रातो थोप्ला राखिएको छ। धेरै क्षेत्रमा आगलागी भएका चितवन आसपासका क्षेत्र तस्बिरमा रातै देखिएको छ। सोही तस्वीरमा मध्यपहाडी तथा हिमालको वरपरको आकास निलो धुवाँले ढाकिएको देखिन्छ। यसलाई चितवनलगायतका तराईका क्षेत्रमा लागेको आगोको प्रभाव ठानिएको छ। धुवाँ मिसिएको दुषित हावाले मानव स्वास्थ्यमा असर पार्ने विज्ञ बताउँछन्।

भरतपुर र पूर्वी चितवनको टिकौलीलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको वन क्षेत्रमा दिउँसै आगलागी हुने गरेको छ। भरतपुरसँग जोडिएका सामुदायिक वनहरुमै आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाई हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनाल बताउँछन्।

भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो। पहाडी क्षेत्रमा बाटो र बस्ती भन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी हुँदा नियन्त्रण सम्भवै नहुने सरोकारवाला बताउँछन् । गत वर्ष चितवनमा ५०० हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा करिब १०० हेक्टर क्षेत्रकोमात्रै समयमै नियन्त्रणमा लिन सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले ९५२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको अलावा चितवनमा जिल्ला वन कार्यालय मातहतमा पनि ठूलो क्षेत्रफल वनले ढाकिएको छ। चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज र नवलपरासी क्षेत्रमा रहेको राष्ट्रिय वन पनि जोडिएका छन्। फागुन देखि वैशाखसम्म यी क्षेत्रमा आगलागी निकै हुने गर्छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल घाँसका लागि मध्यवर्ती क्षेत्रको भर पर्नेहरुले पालुवाको लोभमा आगजनी गर्ने गरेको बताउँछन्।

वातावरण विभागका अनुसार भक्तपुर, सिमरा, हेटौंडा र धनगढीमा वायुको गुणस्तर खस्केको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।

हवाई उडान प्रभावित

वायु प्रदुषणकै कारण मंगलबार चितवनबाट कुन पनि उडान हुन सकेन । भरतपुर विमानस्थलमा मंगलबार १२ वटा उडान तालिका थियो । तर साँझसम्मै प्रदुषणको मात्रा उत्तिक रहेपछि उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।

मंगलबार बुद्ध एयरको ८ वटा उडान हुने तालिका थियो । बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले भिजिविलिट कम भएपछि उडान हुन नसकेको बताए । मंगलबार यतिको ४ वटा उडान थियो । मंगलबार जस्तो अवस्था थियो आज (बुधबार) पनि उस्तै छ ।

विहान केहीबेर उड्न सहज हुने वातावरण बने पनि अहिले पुनः भिजिविलिट कम भएर उडान हुन नसकेको बुद्ध एयरका प्रमुख बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>