चितवन विशेष
निर्वाचन अमर्यादित बन्न नदिन पत्रकार महासंघको ध्यानाकर्षण

चितवन, चैत ८–
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन मर्यादित बनाउन माग गर्दै साधारण सदस्य राजेश घिमिरेले ध्यानाकर्षणपत्र बुझाउनु भएको छ ।
आइतबार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई बुझाइएको ध्यानाकर्षणपत्रमा विगतमा महासंघको निर्वाचनमा कतिपय अमर्यादित गतिविधि हुने गरेको स्मरण गराउँदै यसपालिको निर्वाचनमा ती गतिविधि नदोहोरियोस् भनी सचेत गराइएको छ ।
तीन बुँदा समेटिएको ध्यानाकर्षणपत्रमा मतदान सुरु भएपछि पनि मतदाता थप्ने विगतको परिपाटी यो पटक अन्त्य होस् भनिएको छ । त्यस्तै एउटा पदमा उम्मेदवारी दिएर जुनसुकै समयमा फिर्ता लिन लगाउने र यसैलाई फेरि अन्य पदमा पनि मनोनयन गराउने विगतको परिपाटी यो पटक अन्त्य होस् भन्ने उल्लेख छ । मतदान गोप्यरुपमा हुने परिपाटी विगतमा कायम हुन नसकेको भन्दै एकजनाले मतदान गर्दा अर्काले नजिकै उभिएर चेकजाँच गर्नेजस्ता हरकत यसपालि नदोहोरियोस् भनी सचेत गराइएको छ ।
‘चितवनको निर्वाचनकोे विगत साधारण सदस्यको हैसियतमा मैले महासंघको चितवन शाखालाई यो ध्यानाकर्षण पत्र बुझाएको छु’, ध्यानकर्षणपत्रमा भनिएको छ, ‘यो कुनै पात्र र संगठनप्रति नभई प्रवृत्तिप्रति लक्षित छ ।’
नेपालका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छनौटका लागि चैत २५ गते निर्वाचन हुँदैछ ।
























