Breaking News
लोकतान्त्रिक मर्यादालाई ख्याल गर्दै प्रतिनिधिसभालाई अगाडि बढाउनुपर्छः पूर्वराष्ट्रपति यादव

चितवन, चैत ५–
पूर्वराष्ट्रपति डा.रामबरण यादवले लोकतान्त्रिक मर्यादालाई ख्याल गर्दै प्रतिनिधि सभा बैठकलाई अगाडि बढाउन सुझाव दिएका छन् ।
भरतपुर विमानस्थलमा आज (विहीबार) अपरान्ह पत्रकारहरुसंग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले इतिहासले राजनीतिक दलको भूमिका बारे मूल्यांकन गर्ने भन्दै अहिले सही ढंगले अघि सुझाव दिए । ‘हामी लोकतन्त्रमा छौं, यसको मर्यादा, लोकतान्त्रिक मर्म अनुसार प्रतिनिधिसभालाई चालु गरेर देशलाई निकास दिनुपर्छ’–पूर्वराष्ट्रपति यादवले भने ।
उनले प्रतिनिधिसभामा राष्ट्रको समस्या समाधान गर्न सबै दलहरु विधि प्रक्रिया अनुसार अघि बढ्नुपर्ने बताए । पूर्वराष्ट्रपति यादवले लामो समयको संघर्ष र कठोर तपस्याले संविधान जारी भएको स्मरण गराउँदै सही ढंगले संविधानलाई कार्यान्वय गर्दै अघि बढ्नुपर्ने बताए । ‘सर्वोच्च अदालतको प्रतिष्ठा जनताको बीचमा स्थापित भएको छ’ डा.यादवले भने ‘नेपाली जनताले वाच गरिरहेका छन्, राजनीतिक दलले कस्तो भुमिका खेल्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन् ।’–डा.यादवले भने ।
उनले संविधान जारी भएपछिको उपलब्धिलाई उपयोग गर्दै देशलाई सही मार्गमा लैजाने जिम्मेवारीबाट विमुख हुन नहुने भन्दै जिम्मेवारीका साथ देशलाई अगाडि बढाउन दलहरु लागिपर्नु पर्ने बताए ।
पूर्वराष्ट्रपति डा.यादव भोलि (शुक्रबार) हुने मैयाँदेवि कन्या कलेजको वार्षिकोत्सव तथा कलेज सभाका लागि चितवन आएका हुन् । उनलाई भरतपुर विमानस्थलमा कलेजका अध्यक्ष एवंम समाजसेवी टंकनाथ पौडेल, कलेजका संरक्षक एवंम समाजसेवी प्रेम कुमार श्रेष्ठ, कलेजका प्राचार्य, शिक्षकलगायतले स्वागत गरेका थिए ।
























