Breaking News

प्रचण्डले भनेः केपी ओलीले एमालेमा एकलौटी पेल्न खोजेर रमिता देखाए

Banner

सिन्धुली, चैत ५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेमा केपी ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाउको बताएका छन् ।

सिन्धुलीमाढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमालेभित्रको विवाद चर्चा गर्दै अध्यक्ष दाहालले केपी ओलीले एमालेको नेतृत्व नगरेर गुट चलाएको दाबी गरे । अदालतको फैसलापछि ओली र माधवकुमार नेपाल एमाले बने पनि ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाएको अध्यक्ष दाहालको भनाइ थियो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले भेट्नका लागि भन्दै टेलिफोन गरेको र आफूले दुईपटक फोन गर्दा पनि नउठाएको दाहालले बताए । ’बिहान मलाई केपीजीको फोन आयो, भेट गरौं भन्नुभयो, मैले ठीकै छ भने,’ उनले भने, ‘बेलुकी दुईपटक फोन गर्दा पनि उठेन, राष्ट्रपतिले बोलाएको बैठकमा भेट भयो, तर अझै केपीजीको प्रस्तुति उही लोकतन्त्र र संविधान मास्ने नै छ ।’

कम्युनिस्ट एकता भाँड्न एकथरि लागि रहेको बेलामा आफूले नै प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको व्यक्तिले नै दुर्घटना गराएको दाहालको भनाइ थियो । २७ वर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले बुधबार अनौपचारिक भ्रमणमा आफू सिन्धुली आएको उनको भनाइ थियो ।
सोही अवसरमा उनले नयाँ सरकार गठन टाढा नरहेको बताएका छन् । सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा दलहरुबीच छलफल भइरहेकाले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने अध्यक्ष दाहालले बताए । दाहालले आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको कुरा पुनः दोहो¥याए ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताए । ‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ,’ उनले भने, ‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो ।’

यस्तै, उनले केन्द्र सरकार फेरबदलको टुंगो नलागेसम्म प्रदेशमा पनि सरकार फेरबदल नहुने बताए । ’केन्द्रमा जबसम्म सरकार फेरबदलको टुंगो लाग्दैन, तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।

संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस कुनै हालतमा पूरा नहुने भन्दै अध्यक्ष दाहालले त्यसकाविरुद्ध जुनसुकै स्तरको संघर्ष गर्न तयार रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>