अन्तर्वार्ता

देश तथा विदेशका तारे होटलमा आवश्यक जनशक्ति उत्पादन हाम्रो प्राथमिकता : प्राध्यापक न्यौपाने

Banner

प्रदिप न्यौपाने, चितवनको होटल व्यवस्थापन विषयको क्षेत्रमा चिरपरिचित नाम नै हो । उनी चितवनको आईएसएचएम कलेजको संस्थापक हुन् भने भरतपुरको बालकुमारी कलेज र अरोमा कलेजमा होटल व्यवस्थापन विषय प्राध्यापन पनि गर्छन् । पर्वतको पैयू गाउँपालिका वडा नम्बर ६ मा २०४९ साल फागुन १३ गते जन्मिएका न्यौपानेले उच्च माविमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययन सुरु गरेसँगै यस क्षेत्रको यात्रा सुरु भयो । उनले बालकुमारी कलेजबाट होटल व्यवस्थापन (बीएचएम) विषयमा स्नातक र भारतको इन्दिरा गान्धी ओपन विश्वविद्यालयबाट ट्राभल र टुरिजम विषयमा स्नातकोत्तर गरे । विशेष त नयाँ नयाँ ठाउँहरु घुम्न र शाहसिक विषयमा लेखिएका पुस्तकहरु पढ्न रुचाउँने न्यौपाने अहिले भरतपुर महानगरपालिका–५ विशाल चोकमा स्थायीरुपमा बसोबास गर्छन् । उनै न्यौपानेसँग नारायणी अनलाइनले यस विषयको महत्व र सान्दर्भिकताबारे व्यवसायिक कुराकानी गरेको छ । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंश :

प्रश्न : होटल व्यवस्थापन क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ? 

एसएलसी उतीर्ण गरेपछि म कम्प्युटर विज्ञान विषय पढ्ने भनेर सप्तगण्डकी बहुमुखी क्याम्पस गएको थिए । क्याम्पसको काउन्सिलिङ रुममा नै होटल व्यवस्थापनको शिक्षक दिपक खनाल बस्नु भएको रहेछ । उहाँले नयाँ विषय भनेर विषयको बारेमा राम्रो जानकारी दिएपछि मैले होटल व्यवस्थापन विषय रोजे । सरकै प्रेरणामा उच्च माविमा होटल व्यवस्थापन पढ्न थाले । पछि पढ्दै गएपछि विषयको महत्व र क्षेत्र पनि बुझ्दै गए । म सप्तगण्डकीमा होटल व्यवस्थापनको दोस्रो व्याचको विद्यार्थी हो ।

सप्तगण्डकीमा १२ कक्षा सक्ने बित्तिकै बालकुमारी कलेजमा स्नातक पढ्न सुरु गरे । स्नातक तह पढ्दै गर्दा प्रयोगात्मक अभ्यासको लागि मलेसिया जाने अवसर पाए । मलाई दुबईको विश्वप्रसिद्ध होटल ‘जुबेनाज बिच’ बाट पनि कुकमा काम गर्ने अवसर आएको थियो । त्यही बेला नेपालमा भूकम्प गएको समय भएकोले जान सकिन । पछि भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट ट्राभल र टुरिजम विषयमा स्नातकोत्तर गरे । चितवनमै बसेर प्राध्यापन, अध्ययन र अध्यापन विषयमा सक्रिए रहँदै आएको छु ।

प्रश्न : चितवनमा इन्टरनेशनल स्कुल अफ होटल म्यानेजमेन्ट (आईएसएचएम) कलेज खोल्ने सोच कताबाट आयो ?

चितवनमा विश्वविद्यालयमा होटल व्यवस्थापन पढ्न नसक्ने तर यस क्षेत्रमा व्यवसायिक ज्ञान लिन चाहने विद्यार्थीहरुको संख्या ठूलो भएकोले आईएसएचएम कलेज खोल्ने सोच आएको हो । अहिले देश तथा विदेशमा होटल क्षेत्रमा धेरै भन्दा धेरै कामदारहरुको माग भइरहेकोले पनि दक्ष कामदारको आवश्यकता परिपूर्ति गर्न कलेज सहयोगी बनेको छ । छोटो समयमा नै व्यवसायिक ज्ञान र सिप हासिल गर्नको लागि यो कलेज महत्वपूर्ण माध्यम बनेको छ । हामीले गत वर्षको असारमा नेपालको सीटीभीटी र मलेसियाको लिंकन युरो स्किलसँग सम्बन्धन लिएर कलेज सञ्चालन गरिएको हो ।

प्रश्न : कलेजमा के के विषय पढाइ हुन्छ ?

कलेमा अल्पकालिन र लामो अवधिका कोर्षहरु पढाइ हुन्छन् । छोटो समयमाका कोर्सहरुमा कुक, वेटर जस्तो पर्छन् भने लामो अवधिका कोर्समा डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिप्लोमा इन कुलिनरी आर्टस् पर्छन् । कुलिनरी आर्टस् पढेर पाँच तारे होटलको सेफ बन्ने अवसरसमेत प्राप्त हुन्छ भने होटल व्यवस्थापनमा समग्र होटलको सञ्चालनका कामहरु जस्तै हाउस किपिङ, फ्रन्ट डेस्क सञ्चालनलगायतका कामहरु पर्छन् ।

आईएसएचएम कलेजले प्राज्ञिक डिग्री भन्दा पनि व्यवसायिक र प्राविधिक शिक्षालाई बढी प्राथमिकतामा राखेको छ । पढाइ जम्मा ६ महिना हुन्छ भने विद्यार्थीले एक वर्षसम्म होटलमा प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्छन् । विशेष त कलेजले चीन, दुबई, माल्दिभ्स लगायतका देशका होटलमा पठाउने गर्छ । कतिपय विद्यार्थीले त्यही काम सिक्दा सिक्दै काम गर्ने अवसर पाउँछन् । बस्ने, खाने व्यवस्थासहित भत्ता पनि पाउँछन् ।

प्रश्न : पढ्नलाई कति शुल्क लाग्छ ?

काठमाडौँमा यी विषयहरु पढ्न सातदेखि आठ लाखसम्म लाग्ने गर्छ । तर, चितवनमा यी विषयहरु पढ्न धेरै नै सस्तो छ । होटल व्यवस्थापनमा डिप्लोमा गर्न एक लाख ७० हजार रुपैयाँ जम्मा लाग्छ भने कुलिनरी आर्टस्मा डिप्लोमा गर्नको लागि दुई लाख २० हजार रुपैयाँ सम्म लाग्छ ।
सोही शुल्कमा आवश्यक ड्रेस, पुस्तकहरु, किचनमा चाहिले सामग्रीहरुसहित स्टेशनरीका सबै सामानहरु निःशुल्क हुन्छन् । थप शुल्क लाग्दैन । प्रयोगात्मक कार्यका लागि विश्वका विभिन्न देशमा जाँदा भने सोही अनुसारको शुल्क बुझाउँनु पर्छ । विद्यार्थीले खान, बस्न र काम गरे वापत निश्चित आम्दानी पनि गर्छन् ।

प्रश्न : एक पटकमा कति जना विद्यार्थीहरु कलेजमा भर्ना हुन्छन् ? भर्नाको मापदण्ड के हुन्छ ?

हामीले दुई सेक्सन बिहान र दिउँसो पढाउँछौं । एउटा सेक्सनमा २५ जना भन्दा बढी विद्यार्थी हुँदैनन् । जसलाई आधार मान्दा एक पटकको भर्नामा १०० जना विद्यार्थीले अवसर पाउँछन् । वर्षको दुई पटक भर्ना खुल्छ । जुन, जुलाई र नोभेम्वर तथा डिसेम्बरमा नयाँ विद्यार्थीहरुलाई भर्ना खुल्छ । एसईईमा जुनकुनै ग्रेडमा पास गरेको १६ वर्ष पुगेको नेपाली नागरिक पढ्नको लागि योग्य हुन्छ ।

प्रश्न: कलेजमा अध्ययन गर्ने वातावरण र भौतिक पूर्वाधार के कस्तो छ ?

शान्त र स्वच्छ वातावरणमा विद्यार्थीहरुले पढ्ने अवसर पाउँछन् । होटल व्यवस्थापनमा नै स्नातकोत्तर गरेका अनुभवी १४ जना प्राध्यापकहरुले कलेजमा पढाउँछन् । डडेलधुरादेखि बारासम्मका विद्यार्थीहरु पढ्न आउँछन् । केही वर्ष अघिसम्म यस विषयमा पढ्ने केटीहरुको संख्या निकै कम हुन्थ्यो तर अहिले केटीहरुको संख्या पनि बढ्दै गएको छ ।

कलेजमा व्यवस्थित किचन, रेष्टुरेन्ट, पर्याप्त खेल मैदान र खेल्ने व्यवस्था रहेको छ । विभिन्न तारे होटलका म्यानेजरहरु तथा सेफहरु महिनामा एक पटक अतिथिको रुपमा विद्यार्थीको माझमा ल्याउने गरिएको छ । विद्यार्थीहरुलाई राम्रो होटलमा जागिरको लागि अवसर दिने काम पनि गरिएको छ ।

प्रश्न : चितवनमा यस क्षेत्रको सम्भावना कस्तो छ ?

बढ्दो शहरीकरण र मानिसहरुमा घुमफिर गर्ने चाहना बढ्दै गएकोले चितवनमा होटल क्षेत्रको विकास धेरै भएको छ । कोरोनाले होटल क्षेत्रमा केही असर गरेको भए पनि नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चितवनको विकास हुँदै छ । चितवनको वन्यजन्तु र प्राकृतिक सुन्दरता पर्यटकहरुको मुख्य आकर्षणमा पर्ने गरेका छन् । अहिले देश तथा विदेशमा होटल क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिले लाखौं रुपैयाँ कमाउँछन् । परिवार पनि निकै सन्तुष्ट छन् । मासिक एक लाख रुपैयाँ त सामान्य होटल र रेष्टुरेन्टहरुले पनि दिन्छन् ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>