राजनीति
एमाले ब्यूँतिएपछि वामदेव भेट्न भैसेपाटी पुगे विष्णु पौडेल

काठमाडौं,फागुन २४-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका छन् । पौडेल नेकपाको नामबारे सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गौतमको निवासमा पुगेका हुन् ।
घरमै लडेर सामान्य चोट लागेकोले आराम गरिरहेका गौतम २१ गते प्रधानमन्त्री केपी ओली भैंसेपाटी पुगेका थिए। ओली आफ्नो समूहमा गौतम पक्षलाई ल्याउन क्रियाशिल बनेका छन्। अदालतको निर्णयबाट एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका गौतम फकाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव पौडेल पुगेको उनीनिकट स्रोतले जनाएको छ।
गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, कसरी जाने भन्ने विषयमा गम्भीर छलफल गरेको बुझिएको छ। पुस ५ गते नेकपा अध्यक्ष एवम् केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लागेका छैनन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सुनाएपछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लागेका छन्।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओलीविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि ओली आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय थिए ।























