चितवन विशेष
चितवनमा मगर भाषाको चलचित्र ‘मिह्री’को प्रदर्शन

चितवन, फागुन १७–
चितवनका युवाहरुले निर्माण गरेको मगर भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को आज (सोमबार) भरतपुरमा च्यारिटी शो गरिएको छ ।
मगर समुदायको पहिचान दिलाउन निर्मित ‘मिह्री’ सिजि ल्याण्डमार्कमा रहेको सिनेप्लेक्समा प्रदर्शन गरएको हो । तनहुँको आँबुखैरेनीस्थित सत्रसय रानागाउँको रमणीय दृश्य र भौगोलिक÷सामाजिक पृष्ठभूमिमा चलचित्र बगेको छ । त्यससंगै पवित्र धार्मिकस्थल देवघाटधाम, पोखरा र चितवनको रत्ननगरलगायतका स्थानका दृश्य पनि चलचित्रमा समेटिएको छ ।
चितवनबाटै कलाकार उत्पादन गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको यस चलचित्रमा अधिकांश कलाकार चितवनकै छन् । निर्माता÷निर्देशक रमेश रानामगर स्वयंको मुख्य भुमिका रहेको यस चलचित्रमा उनले अधिकांश नयाँ कलाकारलाई समेटेका छन् । यसअघी दुई मगर चलचित्रमा अभिनय गरेकी मुख्य नायिका सनम आलेमगर, प्रेमकुमारी आलेमगर र बलबिक्रम थापामगरबाहेक अरू सबै नयाँ कलाकार हुन् । तर चलचित्रमा उनीहरुको प्रस्तुत पनि बेजोड देख्न सकिन्छ ।
ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, मिलन थापामगर, सृष्टी थापामगर, देवी थापामगर, भीमबहादुर थापामगर नव कलाकारहरु हुन् । उनीहरुको अभिनयले मगर चलचत्रिलाई अघि बढाउन थप मद्धत मिल्ने देखिन्छ ।
चलचित्रमा अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरुङ र देवेन्द्र रानामगरको संयुक्त लगानी रहेको छ । दुई दशकदेखि नै चितवनको सञ्चार क्षेत्रमा कार्यरत घना गुरूङले चलचित्रलाई छायाँकन तथा सम्पादन गरेका हुन् ।
करिब दुई दशकदेखि सञ्चारकर्ममा सक्रिय रमेश रानामगरको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिह्री’को अर्थ नेपालीमा भाग्य हो । मगर संस्कृतिमा आधारित चलचित्र चितवनबाट निर्माण भएको यो पहिलो हो । रफ्तार मिडिया प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रमा ‘के मेरो माया लाग्छ र’ र ‘भमरा डुल्यो’ सालैजो गीत समावेश छ ।
चलचित्रको च्यारिटी शो गरिनु अघि चलचित्रका कलाकार तथा सम्बन्धित व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
























