राजनीति
संयुक्त सरकार गठन गरौं भन्दै भाजपा नेताले भनेः केपी ओली ‘घर न घाटको !

काठमाडौं,फागुन १४-
नेपाल मामिलामा विवादित र आपत्तिजनक अभिव्यक्ति दिने गरेका भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामी पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन्। उनले नेपालको आन्तरिक मामिलामा चीनलाई समेत जोडेर अभिव्यक्ति दिएका हुन्। बिहीबार एक ट्वीट गर्दै स्वामीले ओलीद्वारा गरिएको संसद् विघटन बदर र घर न घाटको भएको दाबी गरेका छन्। साथै, चीनको प्रभावसँग लड्न भारतले नेपालको विकसित घटनाक्रमबाट सिक्नुपर्ने पनि उनले लेखेका छन्।
नेपालमा चाँडै लोकतन्त्र फर्कने र संयुक्त सरकार गठन हुने आशा पनि उनले व्यक्त गरेका छन्। स्वामी सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् राज्य सभा सांसद हुन्। उनी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिन्छन्। स्वामीले बुधबार पनि यस्तै अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीले गत असारमा वास्तविक अयोध्या नेपालमा रहेको बताउँदा पनि स्वामीले नेपाललाई पनि रावणलाई जस्तै देखाइदिने धम्की दिएका थिए।
























