देश/प्रदेश

मुगुम कार्मारोङले बनायो आफ्नै भवन

Banner

मुगु, फागुन १०-

एक नगरपालिका र तीन गाउँपालिका रहेको हिमाली जिल्ला मुगुमा एक गाउँ पालिकाले आफ्नै प्रशासनिक भवन बनाएर सेवा सुविधा दिन शुरु गरेको छ । मुगुम कार्मारोङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर शनिबारबाट पालिकाबाट प्रदान हुँदै आएका सेवा नयाँ प्रशासनिक भवनबाट दिन शुरु गरेको हो ।

अन्य पालिका केन्द्रमा भाडामा घर लिएर चलिरहेका बेला यो गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा दिन शुरु गरेको हो । भवन निर्माण गर्न गत वर्षको गाउँसभाबाट रु ८१ लाख बजेट विनियोजन गरिएको थियो । ८१ लाख गाउँपालिकाको र १८ लाख जनश्रमदान गरी कूल ९९ लाखमा एक तालीम हल र २३ वटा गाउँपालिकाभित्र रहेका विषयगत शाखाका कार्यालय सञ्चालन, अतिथि गृहसहितको सेवा रहने गरी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी गराउनुभयो ।

भवनसँगै गाँउपालिकाबाट प्रवाह भइरहेका, हुने गतिविधि तथा क्रियाकलापको जानकारी सर्वसाधारणले सहजै पाउन भनेर डिजिटल सूचना पाटी राखिएको र विद्युतीय हाजिरी प्रयोगमा ल्याउन लागेको पनि प्रमुख कठायतले बताउनुभयो । “९ वटा वडाका आफ्नै वडा कार्यालय गत वर्षमा नै निमार्ण गरिसकेका थियांैै, विषयगत शाखा र अन्य कार्यालय सञ्चालनको लागि वर्षेनि लाखांै भाडा तिरेर सकिन्थ्यो, अब पालिकाको सेवा सुविधासहितको कार्यालय भवन निर्माण सम्पन्न भएको छ”, मुगुम कार्माराङ गाउँपालिकाका अध्क्षय छिरिङ क्याप्र्ने लामाले बताउनुभयो ।

जिल्लाका अन्य तीन स्थानीय तहको आफ्नै प्रशासनिक भवन बनाउने प्रक्रियामै छन् ।

खत्याड गाउँपालिकाले रामतडी बजारमा गाउँपालिकाको केन्द्र तोकी कार्यालय भवन बनाउँदै छ भने जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारसँगै जोडिएको कैल्यावाडा भन्ने स्थानमा ४१४९।१९ वर्गमिटर जग्गा अधिकरण गरी मुआब्जा वितरणका लागि गत २ गते जिल्ला प्रशासन कार्यालय मुगुमार्फत सूचना प्रकाशित गरिसकेको छ ।

नगर प्रमुख हरिजङ्ग शाही भन्नुहुन्छ, “भवन निर्माणका लागि ठेक्का खुलेर निर्माण कम्पनीसँग सम्झौता हुन बाँकी छ । जग्गाधनीलाई मुआब्जा वितरण गरिसकेपछि प्रशासनिक भवन निर्माण शुरु हुनेछ, ढिलोमा नगरपालिकाको भवन आगामी वर्षको वैशाखसम्म निर्माण सम्पन्न भई सेवा दिन शुरु हुने विश्वास लिएका छौ ।” सोरु गाउँपालिकाले सोरुकोटबाट कार्यालय सञ्चालन गरेको भए पनि अझै गाउँपालिकाको केन्द्र तोक्न सकिरहेको छैन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>