Breaking News

चितवनमा विद्यार्थीले बनाई दिए गुरुलाई घर, राजेश हमालले गरे हस्तान्तरण

Banner

चितवन, फागुन ४–

चितवन खैरहनीका विद्यार्थीहरुले एक उदाहरणीय काम गरेका छन् । खैरहनी नगरपालिका–१ स्थित कंकाली माविका पूर्व विद्यार्थीहरुले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेर नमुना कामको उदाहरण पेश गरेका हुन् ।

घर निर्माणका लागि कंकाली मावि पूर्व विद्यार्थी समाजले अभियाननै संचालन गरेर सहकर्मीहरुसंग रकम संकलन गरेको थियो । स्वतस्फुर्त रुपमा पूर्व विद्यार्थीहरुले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीहरुले ‘गुरु आवास’ नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए ।

घर निर्माणमा झण्डै २४ लाख रुपैयाँ खर्च भएको छ । ४ लाख जिन्सीसहित २४ लाख रुपैयाँमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए । घरमा फर्निचरदेखी वासिङ मेसिनसम्म व्यवस्था गरिएको छ । कोरोना भाईरस संक्रमणका कारण घर हस्तान्तरणमा ढिलाई भए पनि सरस्वती पूजाको अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन् । कंकाली मावि अगाडी शिक्षक आफैले थोरै जग्गा खरिद गरेपनि घर निर्माण गर्न सकेका थिएनन् ।

सो घर मंगलबार सरस्वती पूजाको अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमुना काम गरेको भन्दै प्रसंसा गरे । ‘शिक्षकप्रति पूर्व विद्यार्थीहरुले देखाएको माया उत्कृष्ठ छ’ महानायक हमालले भने ‘यसले समाजमा अझ राम्रा कामहरुसंग उत्प्रेरित गर्छ ।’

शिक्षक कर्णले नयाँ घर पाउँदा खुसीको सिमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुसी व्यक्त गर्दै भने–‘विद्यार्थीहरुको यो कामको उच्च सम्मान गर्छु ।’ महानायक हमालले घरको चावी हस्तान्तरण गरेसंगै रिवन काटेर शिक्षक कर्णलाई गृह प्रवेश गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>