Breaking News

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः योगेन्द्रको अलराउण्डर प्रदर्शनमा मुनस्टोन विजयी

Banner

चितवन, माघ २७–

चितवन क्रिकेट संघको आयोजनामा आज (मंगलबार)देखि १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ सुरु भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बलिङ र फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुमुर्स’ले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढका प्रमुख एवंम समाजसेवी प्रेमकुमार श्रेष्ठले प्रायोजन बापतको नगद २ लाख रुपैयाँ संघका अध्यक्ष कैलाश प्रधान र उपाध्यक्ष सुदिप पियालाई हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले प्रतियोगिताको सफलताको कामना गरे । उनले क्रिकेट संघले निरन्तर सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा यस्तै सहयोगको आवश्यकता रहेको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय खेलाडी योगेन्द्र सिंह कार्कीको अलराउण्डर प्रदर्शनमा मुनस्टोन क्रिकेट क्लव मंगलपुर विजयी भएको छ । समूह ‘ए’ अन्तरगतको खेलमा मुनस्टोन क्रिकेट क्लवले बेलचोक क्रिकेट क्लव भरतपुरलाई ९ विकेटले पराजित गरेको हो । बेलचोकले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको मुनस्टोनले १४.४ ओभरमा एक विकेटको क्षतिमा ९९ रन बनाउँदै जित हासिल गरेको हो । मुनस्टोनको जितमा राष्ट्रिय खेलाडी लोकेश बमले २० बलमा ४३, योगेन्द्र सिंह कार्कीले अविजित ३१ बलमा ३२ रन र आशिष ढुंगानाले अविजित ३७ बलमा १४ रन बनाए । बेलचोकका लागि सार्थक न्यौपानेले ३ ओभरमा एक मेडनसहित २२ रन खर्चिएर एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ रोजेको बेलचोकले २९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रन जोड्न सफल भयो । उसका लागि गौतम केसीले २६ बलमा ३२ रन र रविन्द्रजंग शाहीले ३८ बलमा १३ रन मात्रै जोड्न सक्यो । अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
बेलचोकको पारी धरासयी बनाउन योगेन्द्र सिंह कार्कीले ९.४ ओभरमा एक मेडनसहित २३ रन खर्चिएर ४ विकेट लिए । यस्तै कमल थापाले ६ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । अलराउण्डर उत्कृष्ट प्रदर्शन गरेका मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रतियोगिताका संयोजक उमेश पियाले नगद १५ हजार र ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तरगत भोलि (बुधबार) समूह ‘बी’ अन्तरगत भरतपुर क्रिकेट क्लव र आधूनिक ११ गीतानगरबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।

एकदिवसीय (५० ओभर) विधामा सुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका कुल ६ टिमहरु चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र आधूनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरि लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने छ ।

समूह ‘ए’ मा चितवन क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर र बेलचोक क्रिकेट क्लव भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधूनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लव रहेका छन् ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>