Breaking News

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा भासिएको सडक मर्मत सुरु

Banner

चितवन, माघ २६-

नारायण–मुग्लिन सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएपछि मर्मतको काम सुरु गरिएको छ ।

सडकखण्डको तीन ठाउँ १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो ।

नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ । यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो । भित्ता काटेर सवारी सञ्चालन भइरहेको छ ।

भासिएको स्थानमा ८२ वटा पायल बनाएर प्रोटेक्सनको काम गर्न लागिएको नारायणगढ मुग्लिन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले जानकारी दिइन् । सो ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो ।

भासिएको सडक मर्मत गर्न बज्र गुरु रायमाझी जेभीले ८ महिनाभित्र काम सक्ने गरी ११ करोड ३१ लाखमा ठेक्का पाएको हो । भासिएको अधिकांश ठाँउमा स्लोप बनाएर प्रोटेक्सनको काम हुने सूचना अधिकारी रानाभाटले बताइन् ।

उनका अनुसार बर्खाअघि नै भासिएको तीनै ठाँउमा मर्मतको काम गरिसकिने छ । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>