देश/प्रदेश

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल

Banner

काठमाडौँ, माघ २५ –

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताउनुभएको छ । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उहाँको तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट –काठमाडौँ सम्पर्क मञ्चको शनिबार आयोजित कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताउनुयो । उहाँले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो । नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो ।

नेकपा वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको जिकिर गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य केशवराज पाण्डेले पार्टी छाडेर जानेहरुले या यही पार्टीमा निःशर्त फर्कनुपर्ने या राजनीतिबाट सन्न्यास लिनुपर्ने स्थिति आउने ठोकुवा गर्नुभयो । नेकपामा नवप्रवेशी कमानसिंह लामाले आफू पार्टीमा कुनै पद र स्वार्थका लागि नभई प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई सघाउन प्रवेश गरेको बताउनुभयो । भेलाले उत्तम तिमिल्सनाका अध्यक्षतामा मञ्चको नेतृत्व पुनः गठन गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>