चितवन विशेष

चितवनमा दुई पटक मतदान गरेका वृद्ध दम्पतीको नागरिकता नै छैन

Banner

मनिका विश्वकर्मा

चितवन, माघ २३ –

जीवनको उत्तराद्र्धतर्फ लम्किदै गरेका एक दम्पतीको अहिलेसम्म पनि नागरिकता बनेको छैन । पूर्वीचितवनको रत्ननगर नगरपालिका–१५ को विन्ध्येश्वरी टोलमा बस्ने दुर्गा बहादुर खत्री र गंगा खत्रीले अहिलेसम्म पनि नेपाली नागरिकता पाउनुभएको छैन ।

रत्ननगरमा नै बसेको तीन दशकभन्दा बढी समय हुँदासमेत उहाँहरुले नागरिकता पाउन सक्नुभएको छैन । स्थानीयकाअनुसार दुर्गाबहादुर उमेरले अन्दाजी ७० वर्ष तथा गंगा अन्दाजी ६० वर्ष पुगिसक्नुभएको छ । सानै उमेरमा दुवै जनाको आमाबाबुको निधन भएको थियो ।

सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण दुवै जनाको आमाबाबुको मृत्यु भएपछि उहाँहरुलाई अरु व्यक्तिले नै पालनपोषण गरेका थिए । उहाँहरुलाई जसले पालेका थिए तिनै मान्छेले नै बिहेदान गरिदिएको गंगा बताउनुहुन्छ । उहाँहरुलाई पाल्ने मान्छेको पनि मृत्यु भइसकेको छ ।

बिहेदान भएपछि उहाँहरु कामका लागि भारत जानुभयो । त्यसपछि उहाँहरु नेपाल आएर चितवनको रत्ननगरको सुकुम्बासी टोलमा बसोबास गरेको बताउनुहुन्छ । त्यतिबेला नागरिककता चाहिन्छ भन्ने सामान्य ज्ञानसमेत नभएको उहाँहरुको भनाइ छ ।

गंगा भन्नुहुन्छ, “उबेला यस्तो चलन थिएन । आमाबाबु पनि मरे । हामीलाई केही थाहा छैन ।” त्यो बेला विभिन्न राजनिति पार्टीका नेताहरुले उनीहरुको नागरिकता बनाइदिने भनेर चुनावमा भोट हाल्न पनि लगाएका थिए । नागरिकता बिना नै उहाँहरु चुनावमा सहभागी भएर मतदान पनि गर्नुभएको थियो ।

नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले मात्रै निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था भए पनि उहाँहरुले नागरिकता नभएरै मतदान गर्नुभयो । गंगा भन्नुहुन्छ, “घरको दैलोमा आएर कांग्रेस, एमालेका नेताहरुले धारा बनाइदिने, नागरिकता बनाइदिने भनेर भोट माग्न आएका थिए । हामीले पनि खुशी भएर भोट दियौँ ।” उहाँहरुले विसं २०४८ को आम निर्वाचनमा भोट दिएको स्मरण गर्नुभयो ।

त्यसपछि धेरै पटक मतदान भए, सरकार फेरियो सत्ता फेरियो तर विडम्बना उहाँहरुले अझैसम्म पनि नागरिकता पाउनुभएको छैन । नागरिकताको लागि उहाँहरुले गाउँका ठूला नेताहरुसँग हारगुहार गर्नुभयो तर, पनि नागरिकता बन्न नसकेको खत्री दम्पतीको गुनासो छ । वडा कार्यालयमा पनि नागरिकताको लागि धेरै पटक धाएको उल्लेख गर्दै गंगाले भन्नुभयो, “नागरिकता बनाउन जाँदा वडाले बिहेदर्ता, जन्मदर्ता र बसाइँसराईको कागजपत्र माग्छन् । तर, हामीसँग कुनै पनि कागजपत्र नभएकोले नागरिकता दिन मिल्दैन भनेका छन् ।”

गंगाको श्रीमान्ले भैँसी डो¥याउने काम छोडेको पनि अहिले दुई वर्ष भइसकेको छ । अहिले गंगाको श्रीमान् आठ हजार रुपैयाँ तलबमा सौराहाको एक होटेलमा काम गर्नुहुन्छ । उहाँहरुको ऐलानी जग्गामा एउटा सानो घर छ । गंगा भन्नुहुन्छ, “भूकम्पले गर्दा घरका भित्ताहरु चर्किएका छन् । जस्ताका पाताहरु खिया लागेर वर्षायाममा पानी चुहिन्छ ।”

नगरपालिकाले ऐलानी जग्गा हुनेहरुलाई लालपुर्जा दिने भएको छ तर त्यसको लागि पनि नागरिकता चाहिने भएकोले उहाँहरुले लालपुर्जा पाउन कठिन देखिन्छ । नागरिता नभएकै कारण खत्री दम्पतीले वृद्धाभत्ता समेत पाउन सकेका छैनन् । “नागरिकता भयो भने अलिकति आर्थिक टेवा पुग्छ कि भनेर हो” उहाँले भन्नुभयो ।

स्वास्थ्यका कारण सो दम्पतीको सन्तान पनि हुन सकेनन् । सन्तान नभएपछि उहाँहरुले अरुका सन्तान पाल्नुभएको थियो । ती छोराले पनि आफूहरुलाई कुनै वास्ता नगरेको खत्री दम्पतीको गुनासो छ ।

बिरामी हुँदा पनि राम्रोसँग स्वास्थ्य सुविधा पाउन नसकेको उहाँहरुको भनाइ छ । उक्त दम्पतीको घरमा अहिलेसम्म न त धारा जडान भएको छ न अन्य कुनै सुविधान नै पाएका छन् ।

कानुन विपरित जान नहुने भएर उहाँहरुको नागरिकता बनाउन नसकिएको रत्ननगर नगरपालिका–१५ का वडाअध्यक्ष हुमनाथ लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता बनाउनको लागि अनिवार्य जन्मदर्ता चाहिन्छ । उहाँहरुको त्यो नभएर नागरिकता बन्न नसकेको हो ।” उहाँहरुले भोट दिएको बारेमा चाँही आफूलाई केही जानकारी नभएको लामिछानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>