गण्डकी
पोखरामा बन्दको विरोध गर्दै सडकमा निस्किए युवा

पोखरा,माघ २२-
संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा बिहीबार प्रचण्ड–माधव समूहले देशैभर गरेको हडतालको प्रभाव पोखरामा पनि परेको छ। बन्द सफल पार्न प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरू सडकमा खटेका छन्। फाट्टफुट्ट रूपमा चलेका सवारीसाधनलाई समेत उनीहरूले फर्काइदिएका छन्।
पोखराका मुख्य चोकहरू पृथ्वी चोक, महेन्द्रपुल, सभागृह चोक, सृजना चोक, क्याम्पस गेट, लगायतका ठाउँमा बन्दकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ। बिहानको समयमा बन्दकर्ताहरू अझै बाक्लो सङ्ख्यामा रहेको भए पनि अहिले भने सङ्ख्या केही कम भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।
पोखरामा बन्दकर्ता मात्र नभई बन्दको विरोध गर्नेहरू समेत सडकमा निस्किएका छन्। बन्द सधैँका लागि अन्त्य गर्नुपर्ने माग गर्दै बन्दकर्ताहरुलाई काउन्टर दिन बन्दको विपक्षमा मोटरसाइकलमा सवार युवाहरूले बन्दको विरोध गरेका हुन्। बन्दको विपक्षमा विद्यार्थी सङ्गठन अनेरास्ववीयुले मोटरसाइकल र्याली नै निकालेका हुन्।


























