देश/प्रदेश

सुदूरपश्चिम प्रदेशका महिलाहरु उत्तरायणी पर्व मनाउँदै

Banner

डोटी,माघ ३ –

आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व शुरु भएको छ ।

यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ । डोटीसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी तथा दाुर्चलाका गाउँघर तथा बजारमा रहेका स्थानीयवासी सबै आ–आफ्नो पायक पर्ने ठाउँमा जम्मा भई नजिकैको खोला, जङ्गल तथा डाँडाकाडाँमा खाना पकाइ खाने तथा दिनभरि सुदूरपश्चिमेली डेउडा खेल खेल्ने र रमाइलो गरी आज दिनभरि उत्तरायणी पर्व मनाउने गर्दछन् । बिहानैदेखि यहाँका स्थानीयवासी उत्तरायणी पर्व मनाउनमा व्यस्त रहेका देखिन्छन् ।

परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते मनाइने यो पर्व निकै धुमधामका रुपमा मनाउदै आएका छन् । यो पर्वको दिन बिबाह भएर आफ्ना घर गएकी छोरीबहिनी बोलाई दान दक्षिणा दिएर उत्तरायणी मनाइने डाँडा अर्थात ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटीहरु पकाएर दिने चलन रहेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने चौधरी समुदायले माघ १ गते माघी भन्दै रमाइलो गर्छन भने पहाडी जिल्लामा बस्नेहरु आज अर्थात माघ ३ गतेकको दिन उत्तरायणी पर्व मनाउँदै रमाइलो गर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित राजपुरका स्थानीयबासी नरेन्द्र शाहले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर, घोल्तडा तथा जिल्ला सदरमुकाम सिलगढी आसपासका डाँडाकाडाँमा आज बिहानैदेखि उत्तरायणी पर्व मनाउनेहरु नयाँ लुगा तथा पहिरनमा सजिएका देखिन्छन् भने उनीहरुका पहिरनका कारण यहाँका डाँडाकाडाँ नै सुन्दर र राताम्मे भएका देखिएका छन् ।

उत्तरायणी मनाउनेहरु आज दिनभर डाँडाकाडाँमा नै रमाइ त्यहाँ खानामा मासको पिठोको बटुक, सुदूरपश्चिमको मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको दिपायल सिलगढी नगरपालिका–५ घोल्तडाका दीपकबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षभरि भेटघाट नभएका छोरीचेली तथा बोलचाल नभएकाहरुसँग पनि भेटघाट हुने तथा बोलचाल हुने आज माघ ३ गतेको दिनलाई यहाँका स्थानीयवासीले मिलन तथा मित्रताको दिनका रूपमा लिने गर्छन् ।”

यो पर्व वर्षेनी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा मनाउँदै आएको छ । यो पर्वको दिन महिला घाँस, दाउरालगायतका कुनै पनि काम गर्दैनन् । घरका सबै सदस्य उत्तरायणी मनाउन जाने तथा घर खाली हुने गरेको छ । उत्तरायणीका दिन गाउँभरिका सबै स्थानीयवासी एकै ठाउँमा खाना खाने चलन छ । आजकै दिन यहाँका महिलाले रनपुतला खेल पनि खेल्ने गर्दछन् ।

महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला । छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिकरूपमा पङ्क्तिबद्ध भएर विवाहित महिलाले वीरहका गीत गाउँदै आजका दिनमा पनि रनपुतला खेल खेल्ने गर्दछन् । पुतलीझैँ सिङ्गारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा जोडी बनाएर कार्पेटमा बोकेर नजिकैको पँधेरोमा लैजाने चलन छ । स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुला बेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याई विभिन्न देउडा, झेउरा र भारी डेउडा खेल खेल्दै रमाउने गर्दछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>