Breaking News

चितवनमा पहिलो पटक तेस्रोलिङ्गीलाई नागरिकता, पहिचानसहितको नागरिकता पाइन् संगिताले

Banner

मनिका विश्वकर्मा,

चितवन, माघ १

चितवनमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचानसहितको नागरिकता बनेको छ ।

तेस्रोलिङ्गी भरतपुर महानगरपालिका शरदपुरकी संगिता अधिकारीले आफ्नो पहिचानसहितको नागरिकता पाएकी हुन् । जिल्ला प्रशासन कार्यालय चितवनको अनुसार चितवनमा पहिलो पटक यसरी तेस्रोलिंगीलाई पहिचानसहितको नागरिकता उपलब्ध गराएको जनाएको छ ।
२०७३ साल माघ १० गते जारी गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नाम र लिङ्ग सच्याएर नागरिकता लिन पाउने कानुन आएपछि संगिताले पनि आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी हुन् ।

पहिचानसहितको नागरिकता पाउनको लागि संगिताले चार वर्ष प्रशासन कार्यालय धाउनुपर्‍यो  । परिवार र समाजको सनाखत हुँदा पनि उनलाई प्रशासनले भने पत्याइरहेको थिएन । नागरिकताकै लागि भनेर उनले धेरै संघर्ष गर्नुपरेको बताउँछिन् । उनले भनिन्, ‘नागरिकताको लागि चार वर्ष त धाएँ तर अन्तिममा म को हुँ भनेर प्रमाणित गर्नुपर्‍यो ।

पहिचानसहितको नागरिकता पाउनको लागि मेडिकल चिकित्सकबाट प्रमाणीकरण(मेडिकल प्रुफ) गर्नुपरेको उनले बताइन् । उनले ‘अन्य’ भनेर नागरिकता पाइन् तर त्यसको लागि धेरै संघर्ष गर्नुपरेको बताउँछिन् । उनले नागरिकताकै लागि वडा कार्यालयलाई धेरै व्यक्तिगत कुरा बुझाउनु परेको बताइन् । पहिलो कुरा त वडालाई तेस्रोलिङ्गी भनेको नै थाहा नभएको र पछि यसै सम्बन्धी दुई/तीन वटा कार्यक्रममा सहभागी गराएपछि मात्र वडा कार्यालयले सिफारिस बनाइ दिएको उनको अनुभव छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कानुनमा उल्लेख नभए पनि कुराहरु पनि आवश्यकता अनुसार नागरिकता दिनुपरेकोले त्यसरी चिकित्सकद्वारा प्रमाणित गर्नुपरेको जानकारी दिए । उनले भने, ‘ यसरी जसलाई पनि म तेस्रोलिङ्गी भन्दैमा नागरिकता दियो भने समाजमा समस्या पैदा हुन जान्छ ।’

यौनिक तथा अल्पसंख्यक समुदायकी संगिता अधिकारीले ठूलै संघर्षबाट आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी छिन् । संगिताले नागरिकताकै लागि मेडिकल रिपोर्टसहित बुझाउनुपरेको छ । कानुन विपरित गएर जिल्ला प्रशासन कार्यालय चितवनले संगितालाई नागरिकताको लागि मेडिकल रिपोर्ट ल्याउन आदेश गरेको थियो ।

चितवनको भरतपुरमा नै संगिता बुबाआमासँगै बस्छिन् । उमेरले २२ वर्ष लागेकी संगिताले आफ्नो पहिचान अनुसारको नागरिकता पाउनको लागि चार वर्ष प्रशासन धाउनुपरेको थियो । उनले भनिन् ‘वडा कार्यालयमा म तेस्रो लिङ्गी भनेर नागरिकता बनाइ दिनुहोस् भन्दा भन्दा बल्ल तल्ल वडाले नागरिकताको लागि सिफारिस बनाइ दिएको थियो ।’  शरदपुरकी २२ वर्षीय संगिताको जन्मदर्तामा ‘छोरा’ उल्लेख छ । उमेर बढ्दै जाँदा उनमा छोरीका गुण देखा प¥यो । पछिमात्रै उनले आफू यौनिक अल्पसङ्ख्यक (तेस्रोलिङ्गी) भएको पत्तो पाइन् ।
अदालतले प्रष्ट व्याख्या गरेर पहिचान दिन आदेश गरेको लामो समय भइसके पनि नेपाली नागरिकता लिने उनको धोको पूरा हुन सकेको थिएन । यसका लागि जन्मदर्ता मुख्य बाधक बन्न पुगेको थियो । मेडिकल रिपोर्टले नै पुष्टि गर्नुपर्छ । त्यही रिपोर्ट बनाउन लाग्ने ठूलो धनराशीको जोहो गर्न नसक्दा पनि समय धेरै खर्चिनु परेको संगिता बताउँछिन् ।

लैङ्गिक पहिचानको लागि मेडिकल उपचारमा पाँच लाखसम्म रकम जुटाउन नसक्दा पहिचानसहितको नागरिकता नपाउँदा धेरै दुःख पाउनुपरेको संगिताले बताइन् ।पहिचान अनुसारको नागरिकता नपाएकाहरुको लागि आवाज उठाउने उनले भनिन् ‘मैले त पाए । अरुले किन नपाउने’

मानव सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठका अनुसार यसरी चिकित्सकबाट तेस्रोलिङ्गीं हो होइन भनेर प्रमाणित गर्नु नै गलत तरिका रहेको बताए । भावनात्मक रुपमा आफू महिला, पुरुष भन्दा फरक क्षमताको भएपछि पनि त्यसलाई प्रमाणित गर्नुपर्ने आवश्यक नरहेको श्रेष्ठ बताउँछन् । चितवनमा हाल ३०० बढी यस समुदायका व्यक्ति छन् । कसैको पनि पहिचानसहितको नागरिकता बन्न नसकेको श्रेष्ठले जानकारी दिए । कानुन भन्दा बाहिर गएर यसरी प्रमाणित गर्नुपरेको एकदम गलत रहेको उनको दाबी छ ।

त्यस्तै यसै समुदायकी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १२ बस्ने सानु लामाले पनि पहिचानसहितको नागरिकता पाइन् । तर, उनले भने सहजै तरिकाले नागरिकता पाइन् । लामाले कुनै मेडिकल प्रुफ गर्न नपरेको निल हिरा समाज मकवानपुरको कार्यक्रम संयोजक किरण थापाले जानकारी दिए । वडाले नै सिफारिस बनाइ दिएपछि सहजै प्रशासनले पहिचानसहितको नागरिकता पाएको उनले बताए । उक्त काननु आएपछि मकवानपुरमा यस यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका तीन जनाले पहिचान सहितको नागरिकता पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>