Breaking News

अमेरिकाको चर्चित होटल ब्राण्ड ‘रमाडा’ ले चितवनमा रिसोर्ट खोल्दै, चार बिघा जग्गा किन्यो

Banner

काठमाडौँ,  पुस २९-

अमेरिकाको ६८ वर्ष पुरानो चर्चित होटल ब्राण्ड ‘रमाणा’ ले चितवनमा होटल खोल्ने तयारी गरेको छ ।

यसका लागि कम्पनीले सौराहामा चार बिघा जग्गा खरिद गरिसकेको छ । ३६ जना मिलेर लगानी गरेको नयाँ होटलमा शान्तिरमण पंगेनीको समूहले रमाडाको फ्रेञ्चाइज सौराहामा भित्र्याउन लागेका हुन् । उक्त कम्पनीले नेपालका लागि पहिलो फ्रेञ्चाइज ठमेलमा दिएसँगै चितवनको सौराहामा पनि होटल खोल्ने तयारी गरेको हो । ठमेलमा रमाडा इन्कोरको नामबाट होटल सञ्चालनमा ल्याएको छ ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्यका होटल रिसोर्टको व्यवस्थापन गर्दै आएको रमाडा ६८ वर्ष पुरानो कम्पनी हो । रमाडाको ब्राण्डमा विश्वभरका ९० मुलुकमा फ्रेञ्चाइज सञ्चालित छ । यस अन्तर्गत नौ हजार ६०० वटा होटल छन्। वेन्दहाम होटल एण्ड रिसोर्टको २० वटा ब्राण्डमध्ये ‘रमाडा इनकोर’ एउटा मिड रेञ्जको ब्राण्ड हो।

‘हामी क्षमता विस्तारको तयारीमा छौं । तर अहिलेको अवस्थामा नेपाल सरकारबाट कत्तिको सपोर्ट हुन्छ, प्रतिफल के हुने भन्ने हिसाब गरेर मात्रै लगानी थप्नेछौं,’ ठमेलको रमाडा इन्कोर होटलका अध्यक्ष पंगेनीले बताए । थप प्रोपर्टी विस्तारका लागि नयाँ ठाउँमा अध्ययन गर्ने र त्यसका आधारमा योजना अगाडि बढाउने उनले जानकारी दिए

‘हामी त लोन नै लिएर अगाडि बढ्ने हो । अब सरकारले पर्यटन उद्योगलाई कतिको राहत दिन्छ भन्ने हेर्छौं,’ उनले भने, ‘अहिले पाँच प्रतिशत ब्याजदरमा कर्जा दिने निर्णय गरेको छ। तर एक वर्ष अवधि पर्याप्त छैन । दुईदेखि तीन वर्षको समयावधि तोकिदिए राहत हुने थियो । यो त २० करोड रुपैयाँका लागि हो । त्योभन्दा माथिका लागि पनि सरकारले पहल गर्न आवश्यक छ। ’

तारे होटलहरूमा मल्टिनेशनल चेनको व्यवस्थापन भित्र्याउने लहर चल्दै गर्दा अमेरिकी बहुराष्ट्रिय कम्पनी रमाडाको फ्रेञ्चाइज नेपाल आएको हो । युरोप, अमेरिका, क्यानडा र चीन लगायतका मुलुकमा रमाडाको फ्रेञ्चाइज सञ्चालित छन् । चीनमा मात्र १४ सय वटा होटलले रमाडाको फ्रेञ्चाइज लिएका छन ्। अमेरिका र युरोपमा यो ठूलो ब्राण्ड मानिएको छ । भारतका पनि विभिन्न शहरमा रमाडा ब्राण्डमा होटल सञ्चालनमा छन् ।

नेपालमा चार वर्षभित्र थप ठाउँमा रमाडाको विङ्स विस्तार गर्ने योजना रहेको भन्दै अध्यक्ष पंगेनीले भने ‘नेपालमा नयाँ नयाँ अन्तर्राष्ट्रिय ब्राण्ड सञ्चालनमा आइसकेका छन् । कतिपय आउने तयारीमा छन् । उनले अबको चार वर्षभित्र यसका चार वटा होटल हुने बताए । नेपालमा पर्यटनको सम्भाव्यता देखेर रमाडाले चासो देखाएको उनको भनाइ छ ।

सबै विदेशी फ्रेञ्चाइज होटलको आआफ्नो विशेषता हुन्छन् । उनले भने बहुराष्ट्रिय फ्रेञ्चाइजका सुविधा ग्राहकको अधिकतम हितमा हुने बताए । ‘जति पनि गेस्ट आउनुहुन्छ, केही घटना भयो भने पनि अन्तर्राष्ट्रिय इन्स्योरेन्सको सेवा लिन सक्नुहुनेछ । यसकारण पाहुनाका लागि रमाडा सेक्योर छ,’ उनले भने, ’त्योसँगै हाइ एक्पेन्सिभ नभएका कारण मध्यमवर्गीय परिवारले पनि सेवा लिन सक्नुहुनेछ।’

करिब दुई अर्ब रुपैयाँ लगानी रहेको ठमेलको होटलले कोभिड(१९ संक्रमण न्यून भएसँगै सेवा विस्तारका लागि थप ११ आना जग्गा खरिद गरिसकेको उनले जानकारी दिए । थप जग्गा लिने योजना रहेको उनले बताए । उनका अनुसार सेवा विस्तारका लागि थप डेढ अर्ब लगानी रहने छ ।

३७ आना जमिनमा रहेको रमडा इन्कोर होटलमा ९० वटा कोठा छन ्। सात तले होटलमा जिम हल, ९० जना क्षमताको सेमिनार हल, स्पास्टिम साउना, योगा हल, स्विमिङ पुल, दुर्ई वटा रेष्टुरेण्ट (८० र ८० जनाको क्षमता), दुईवटा मिटिङ रूम र एक सय वटाभन्दा बढी गाडी पार्किङको सुविधा छ । उनका अनुसार होटलको डिजाइन, निर्माण सामग्री, उपकरणलगायत सबै रमाडाको मापदण्ड अनुसार प्रयोग गरिएको छ । होटलमा स्टुडियो (चार वटा), डिलक्स (६१वटा) र सुपर डिलक्स (२५वटा) लगायत तीन किसिमको कोठा छ।

३६ जनाको साझेदारी रहेको यो होटलमा हङकङ एनआरएनको पनि लगानी छ । पंगेनीले पाँच वर्षअघि पोखरामा होटल डालिया सञ्चालनमा ल्याएका थिए ।

कसरी आयो रमाडा ?

व्यवस्थापन र अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय फ्रेञ्चाइजको अवधारणा आएको उनले बताए। ’हामीले आफ्नै डालिया ब्राण्ड व्यवस्थापनमा यो होटल सञ्चालनमा ल्याउने योजना थियो । तर अन्तर्राष्ट्रिय फ्रेञ्चाइज ल्याइएको अवस्थामा ब्राण्डको महत्वसँगै विदेशी पर्यटक आगमन बढ्ने देखिएपछि यो अवधारणा आएको हो,’ उनले भने, ‘विदेशी चेनका आफ्नै पाहुना हुन्छन् । यो त ठूलो ब्राण्ड हो। नियमित एउटै ब्राण्ड प्रयोग गर्दै आएका विदेशीले नेपाल आउँदा पनि उही ब्राण्ड प्रयोग गर्दै आएका छन् ।’

आफूहरूले फ्रेञ्चाइजका लागि प्रस्ताव गर्दा नेपालमा पर्यटनको सम्भावनालाई ध्यानमा राख्दै रमाडाले पनि चासो देखाएको उनले जानकारी दिए ।

नेपालमा फ्रेञ्चाइज लहर

फ्रेञ्चाइजले सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रियकरण गर्छ। संसारभर प्रख्यात पर्टयकीय केन्द्रमा सेवा दिएका होटल–रिसोर्ट र रेस्टुरेन्टहरूको व्यवस्थापन एउटा ब्राण्डको चेनमा बाँधिए गुणस्तर समान बनाउनु पर्छ । यसले एकपटक सेवा लिएर प्रभावित ग्राहकलाई सधैं आकर्षित गर्छ।

नेपालमा सोल्टी होटलले अन्तर्राष्ट्रिय चेन ब्राण्डको सुरुवात गरेको थियो । सोल्टीले ५० वर्ष अघि (सन् १९६८)मा ओबेरोयको चेन ब्राण्ड ल्याएको थियो । त्यसपछि हिल्टन, सेराटन, इन्टरकन्टिनेन्टल, ताज, ¥याडिसन, हायात, आईसीटी लगायतका अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिए । फ्रेञ्चाइज ल्याउँदा नेपालमा होटल–रेस्टुरेन्टको स्तरवृद्धि भएको छ । तर, अधिकांशको अपेक्षाअनुसार नेपालमा व्यवसायिक सफलता नदेखिएको होटल व्यवसायीहरूको विश्लेषण छ ।

पछिल्लो वर्षयता एलोफ्ट, मेरियट, ताज, स्विस इन्टरनेशनल लगायत अन्तर्राष्ट्रिय फ्रेञ्चाइज ब्राण्ड नेपालमा प्रवेश गरिसकेका छन् । कोभिडका कारण यी होटलले अपरेसनका लागि अहिले आन्तरिक पर्यटक लक्षित आर्कषक योजना ल्याउन सुरु गरिसकेका छन् । तर, कोभिडकै कारण हिल्टन, सेराटन, दुसित थानी, लेमन ट्री लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेञ्चाइजलाई नेपाल भित्रिन थप समय लाग्ने देखिएको छ।

(वसन्तराज उप्रेती, बिजमाण्डू)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>