Breaking News

चितवनमा कुखुराको मासु महंगियो, प्रतिकेजी ३८० रुपैयाँ पुग्यो

Banner

चितवन, पुुस २१-

चितवनमा बोइलर कुखुराको मासु महंगिँदै खुद्रामा प्रतिकेजी ३८० रूपैयाँसम्म पुगेको छ । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको व्यवसायीले बताएका छन् ।

लकडाउनको समयमा मूल्य घटेर २०० रुपैयाँ प्रतिकेजी पुगेको कुखुराको मासुको मूल्य गत मसिंरदेखि लगातार बढ्न थालेको हो । चितवनको सिनर्जी मिटका प्रोपाइटर सुमन जोशीले अहिले चितवनमा मासुको मूल्य निरन्तर बढिरहेको नारायणी अनलाइनलाई जानकारी दिए । अहिले होलसेलमा कुखुराको मासु ३५० रुपैयाँमा बिक्री भइरहेको छ भने खुद्रा मूल्य ३८० सम्म पुगेको उनले बताए । उनले भने, ‘एक्कासी ३८० नपुगेर मंसिरबाट निरन्तर बढिरहेको छ ।’

चिसोयाममा हुर्काउन गाह्रो पर्ने भन्दै कुखुरापालक किसान र पोल्ट्री फार्महरुले गर्मियामका तुलनामा खोरमा चल्ला हाल्ने संख्या घटाउँछन् । जाडोमा बजार माग भए पनि कुखुराको आपूर्ति बर्सेनि घट्ने गरेको छ । यसपटक पनि आपूर्ति परिमाण निकै घटिसकेको छ । सिनर्जी मिट सप्लायर्सका प्रोपाइटर जोशीले लकडाउनमा कुखुरा पालक किसानहरुले धेरै घाटा खाएकोले अहिले पाल्न नै छाडेकाले पनि मूल्य बढेको बताए । उनले भने, ‘चल्लाको वितरण र उत्पादन पनि कम भएकोले पनि मासु उत्पादन घट्न गएको छ ।’

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले किसानले निरन्तररुपमा घाटा खाएकोले आजकल कुखुरा पाल्न नै छाड्दा उत्पादन घटेको बताए । उनले अहिले उत्पादन घटेकोले बजार सुध्रिएको जानकारी दिए । उनले विगतमा चिसो महिनामा चल्ला राख्ने क्रम कम गरिएको भए पनि यस वर्ष जाडो कम नै भएकोले उत्पादनमा समस्या नआएको बताए । बराले भने, ‘कुखुरा उत्पादन १० महिना घाटा खाएर दुई महिना मूल्य पाउने व्यवसाय हो । निरन्तररुपमा घाटा खाएर पनि अहिलेसम्म यो व्यवसाय निरन्तरता दिने किसानले अहिले मूल्य पाए ।’ बोइलरमा मूल्य पाउन छाडेपछि लोकल र गिरिराज कुखुरा पाल्नेहरु पनि बढेको उनको भनाइ थियो । लामो समयदेखि कुखुरापालनको काम गर्दै आएका कृषक भरतपुर–११ का केशब दवाडीले निरन्तर घाटामा गएकोले कुखुरा पाल्न छाडेको गुनासो गरे । लकडाउनको समयमा एकातिर चल्ला, दाना पनि सजिलै सहजरुपमा पाउन नसकेकोले समस्या भएको बताए ।

चितवनमा होटल, रेस्टुरेन्ट खुले । होस्टल र स्कुल–कलेजका क्यान्टिन पनि क्रमशः खुल्दै जाँदा मासुको खपत बढेको छ । दसैं अघिका तुलनामा बजारमा सुधार आए पनि कुखुरापालकले खोरमा चल्ला घटाएकाले आपूर्ति बढ्ने अवस्था छैन । ‘माग बढिरहे भाउ बढ्न सक्छ, घट्दैन,’ व्यवसायीले भने ।

चिसोमा खोरको तापक्रम व्यवस्थापन मिलाउन नसक्दा कुखुरालाई रोग लाग्ने र मर्ने हुन्छ । ठिक्क तापक्रम व्यवस्थापन नहुँदा कुखुराको तौल अपेक्षित मात्रामा बढ्दैन । त्यसैले जाडोमा बर्सेनि बजारमा पठाउने परिमाण घट्नु सामान्य भएको पोल्ट्री संघले जनाएको छ । बजारमा माग बढेको देखेर खोरमा चल्ला हाल्दा पनि तयार हुन ४० देखि ४५ दिन लाग्छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>