Breaking News

चितवनमा मातृशिशु मृत्युदर बढ्यो, तीन वर्षमा २० सुत्केरी र १०७ शिशुको मृत्यु

Banner

मनिका विश्वकर्मा

चितवन, पुस २१ –

देशकै मध्यभागमा रहेको चितवन जिल्ला मेडिकल सिटीको रुपमा चिनिन्छ । यहाँ ठूलाठूला दुईवटा मेडिकल कलेज लगायत दर्जनौँ अस्पतालहरु रहेका छन् । तर, पछिल्लो समय स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार गर्भवती महिला र नवजात शिशुकोे मृत्युदर भने चितवनमा बढेको पाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चितवनमा चालु आर्थिक वर्ष ०७७\७८ को पुस महिनासम्ममा पाँच जना सुत्केरी महिलाको ज्यान गएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।

त्यसैगरी यसै आर्थिक वर्षको पुस सम्ममा १५ जना नवजात शिशुको मृत्यु भएको छ । जसमा १४ जना भरतपुरका र एक जना इच्छाकामना गाउँपालिकाका रहेका छन् । यस्तै गत आर्थिक वर्ष ०७६\७७ मा १० जना र आर्थिक वर्ष ०७५\७६ मा पाँच जना सुत्केरी महिलाको मृत्यु भएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६\७७ मा ४२ जना नवजात शिशुको ज्यान गएको छ । मृत्यु हुनेमा नवजात शिशुहरु भरतपुर महानगरका ३४ जना, इच्छाकामना गाउँपालिकाका दुई जना, माडी नगरपालिकाका दुई जना र रत्ननगर नगरपालिकाका एक जना रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७५\०७६ मा भने नवजात शिशुको मृत्यु ह्वात्तै बढेको थियो । यस वर्ष जम्मा ५० जना नवजात शिशुले ज्यान गुमाएका थिए । जसमा भरतपुरका ४१ जना, इच्छाकामनाका ४, राप्तीका ३ र माडी, कालिका, खैरहनीका १\१ जना नवजात शिशुको मृत्यु भएको छ ।

चितवनमा स्वास्थ्य क्षेत्रको हिसाबले पनि भरतपुरलाई सुविधा सम्पन्न मानिन्छ । तर, यही क्षेत्रमा बढी सुत्केरी महिला र शिशुको मृत्यु भएको आँकडाले देखाएको छ । भरतपुरमा गएको दुई वर्षमा ४५१.९ प्रतिशत महिलाहरुले सुत्केरी गराएका छन् । गत साउनदेखि पुुससम्म भरतपुरका ९०.५ प्रतिशत महिलाले सुत्केरी गराएका हुन् । त्यस्तै गएको दुई वर्षमा राप्तीका २३.५ प्रतिशत, कालिकाका २६.२ प्रतिशत, इच्छाकामनाका ३० प्रतिशत, रत्ननगरका ३३.६, खैरहनीका ४.१, माडीका ७४.३ प्रतिशतमहिलाहरुले सुत्केरी गराएका छन् । गएको दुई वर्षमा चितवनमा ३६ हजार २०८ गर्भवती महिलाले अस्पतालमा सुत्केरी गराएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत साउन महिनादेखि पुससम्म सात हजार ६४२ जनाले अस्पतालमा सुत्केरी गराएका छन् ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसुति विभाग प्रमुख डा. सुनिलमणि पोखरेलकाअनुसार चितवनमा सुत्केरी महिलाले समयमै उपचार र सुरक्षित प्रसुति सेवा नपाउने कारणले चितवनमा सुत्केरी महिलाको मृत्युदर बढिरहेको बताउनुभयो ।  पछिल्लो समयमा कोरोनाको कारणले दुई जना सुत्केरी महिलाको मृत्यु भएको डा. पोखरेलले जानकारी दिनुभयो । दुवै महिला भरतपुरका नै रहेका छन् । रगतअभावको कारण सुत्केरी महिलाको मृत्यु भएको पोखरेलले बताउनुभयो । कम उमेरमा गर्भवती हुँदा पनि सुत्केरीको मृत्यु हुने गरेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा सुत्केरीको शल्यक्रिया गर्नको लागि एउटा मात्रै शल्यक्रिया कक्ष रहेकाले समयमा नै उपचार नपाँउदा पनि सुत्केरी महिलाको मृत्यु हुने गरेको पोखरेलले बताउनुभयो । उच्च रक्तचाप, मधुमेह, पाठेघरको समस्याको कारण पनि सुत्केरी महिलाको मृत्यु हुने गरेको उहाँले सञ्चारपत्रलाई जानकारी दिनुभयो ।

चितवनको तीन वटा अस्पतालहरुले मात्रै तथ्याङ्क दिने गरेकोस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले बताउनुभयो । चितवनका भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेजले मात्रै सुत्केरीबारे रिर्पोटिङ गर्ने गरेको तिवारीको भनाइ छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>