चितवन विशेष

सुरक्षित वैदेशिक रोजगारका लागि चितवनमा सामी परियोजना, झण्डै १८ हजार लाभान्वित हुने

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस १९ –

सुरक्षित वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) बाट चितवनमा झण्डै १८ हजार जना लाभान्वित हुने भएका छन् । आइतबार सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारको असर र प्रभावबारे भरतपुरमा पत्रकारहरुसँग गरेको अन्र्तक्रियामा उक्त जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै परियोजनाका संयोजक सूर्यप्रसाद पौडेलले ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित २९ जिल्लाका १५६ स्थानीय तहमा यो परियोजना लागु गरिएको जानकारी दिए ।

परियोजनाको प्रमुख उद्देश्यमा वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, वैदेशिक रोजगारीमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने रहेको छ ।

यस परियोजनाबाट कुल १० लाख ४३ हजार १ सय जना लाभान्वित हुने अपेक्षा गरिएको उनले बताए । चितवनबाट १८ हजार ७४० जना लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाइ छ । परियोजनाको अवधि २०७९ असार मसान्तसम्म रहेको छ । चितवनका ७ स्थानीय तहमध्ये ४ स्थानीय तहमा उक्त परियोजना लागु गरिएको छ । भरतपृुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिकामा यो परियोजना सुचारु छ । २०७६÷७७ माघदेखि चितवनमा यो परियोजना सुरु भएको थियो ।

यस परियोजनाको मुख्य कार्यक्रमहरुमा सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता रहेका छन् । चितवनमा सीपयुक्त जनशक्तिको विकासमा १२ सय, सूचनाको पहुँचमा १५ हजार, न्यायमा पहुँचमा ११ सय, मनोसामाजिक परामर्शमा २४० र वित्तिय साक्षरतामा १२ सय जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।

परियोजनाका संयोजक पौडेलले नेपालको विमानस्थलको प्रयोग गरेर, सहयोगी संस्थाहरुबारे जानकारी राखेर, ‘वैदेशिक रोजगागरी’ मोबाइल एप्लिेकेशनको प्रयोग गरेर, श्रम स्वीकृती जाँच गरेर, वैदेशिक रोजगार सम्बन्धी कानुनहरुबारे बुझेर, सीप ज्ञानको हाँसिललगायतका आवश्यक कुराहरु बारे जानकारी लिएरमात्र विदेश जानुपर्ने जस्ता संदेश दिनु पनि परियोजनाको कार्यक्रम रहेको बताए ।

मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा टिमलाई खटाएर कार्यक्रम सञ्चान भइरहेको बताए । यस्तै टोलटोल र वडामा गएर भेला गरेर पनि कार्यक्रम गर्ने गरिएको उनले बताए ।

मेड नेपालका अध्यक्ष ऋषी न्यौपानेले परियोजनाको समग्र नेतृत्व नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिएको जनाए । परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारहरु तथा प्राविधिक सहयोग हेल्भेटास स्वीस ईन्टरको अपरेसन नेपालले लिएको छ । कार्यान्वयन साझेदारका रुपमा मेड–नेपालले कार्य गरिरहेको छ । हेल्भेटास नेपालले परियोजनाको गुणस्तर कायम गर्न र आवश्यक क्षमता विकासको लागि संघीय तथा स्थानीय तहमा प्राबिधिक सहयोग गर्ने गरी समन्वयन गरेको छ ।

कार्यक्रममा भरतपुर महानगर सामाजिक विकास शाखाका तुलसी श्रेष्ठले परियोजना अन्तर्गत भइरहेका गतिविधिका बारेमा जानकारी दिएका थिए । श्रेष्ठले महानगरवासीलाई वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्न प्रोत्साहन गर्ने काम महानगरले गरिरहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>