देश/प्रदेश
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अर्जुन विक धरौटी तिरेर छुटे

धनगढी, माघ १५ –
शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अर्जुन विक धरौटी तिरेर छुटेका छन्।
जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि विकलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएपछि विक छुटेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जवरा राणाले जानकारी दिएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक यसअघि ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ परेका थिए।
उनले भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए। गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार रहेको प्रहरीले बताएको छ ।
त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्। उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले विकको निरन्तर खोजी गरेको थियो।
‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी अदालतमा पेस गरेको थियो। पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिठ्युमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए।

























